मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
धनगढी । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको जोरायल गाउँपालिका–१ का २८ वर्षीय चित्र मडै रहेको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
मंगलबार राति धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित अस्थायी प्रहरी पोष्ट नजिकै मोहनापुल अत्तरिया सडकखण्डमा से २ प ५२८२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चित्र गम्भीर घाइते भएका थिए । गम्भीर घाइतेउनलाई उपचारका लागि तत्काल माया मेट्रो अस्पताल पुगाइएको भए पनि अस्पतालले मृत घोषणा गरेको हो ।
मृतक चित्र उक्त मोटरसाइकलमा सवार थिए । यस्तै, दुर्घटनामा परेर मोटरसाइकल चालक जोरायल गाउँपालिका–१ कै २१ वर्षीय सन्तोष मल्ल घाइते भएका छन् । उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । मृतक चित्रको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
