हेटौंडामा सवारी दुर्घटना

तु खबर संवाददाता
२०७९ श्रावण २३, सोमबार १६:०८

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ मा सोमबार बिहान सवारी दुर्घटना भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रातमाटेबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ६२५४ नम्बरको ट्रकले ना १ क ५१२३ नम्बरको स्कुल बससहित तीन वटा सवारीसाधनलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, उक्त ट्रकले सुरुमा रातोमाटेबाट हेटौंडातर्फ आउँदै रिलाइन्स् बोर्डिङ्ग स्कुलको बसलाई पछाडीबाट ठक्कर दिएर विपरित दिशाबाट आउँदै गरेको लु १ क ४३७० नम्बरको खाली ट्याङ्कर, बा ७ च ९६०४ नम्बरको कार र सडक छेउमा रोकिराखेको प्रदेश २–०३–००१–ख २५०६ नम्बरको लहरीलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट अनियन्त्रित भएको बस आपँको रुखमा र ट्याङ्कर कारमाथि पल्टिएको थियो ।

उक्त दुर्घटनमा परेर स्कुल बसमा सवार विद्यार्थीसहित एक दर्जन भन्दा बढी घाइते भएका छन् । घाइते भएकाहरुको हेटौंडास्थित चुरेहिल र हेटौंडा अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता कार्कीले बताए ।