हेटौंडा उपमहानगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउने

तु खबर संवाददाता
२०७९ श्रावण २०, शुक्रबार १०:१७

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले बिरामीका लागि निःशुल्क रुपमा रगत उपलब्ध गराउने भएको छ । उपमहानगरपालिकाले जिल्ला रेडक्रस सोसाइटी कार्यालय मकवानपुरसँग सहकार्य गरेर उपमहानगरपालिका क्षेत्रका नागरिकहरुलाई लागि निःशुल्क रगत उपलब्ध गराउने भएको हो ।

मान्यता प्राप्त अस्पतालमा उपचाररत हेटौंडाको बिरामीका लागि चिकित्सको सिफारिसका आधारमा आवश्यक अनुसार रगत रेडक्रसद्वारा संचालित ब्लड बैंक हेटौंडाले उपलब्ध गराउने गरी सहमति भएको हेटौंडाका उपमेयर राजेश बानियाँले जानकारी दिए । उनका अनुसार, सो सेवा उपलब्ध गराएबापत रेडक्रसबाट हुने सम्पूर्ण खर्च उपमहानगरपालिकाले व्यहोर्ने छ ।

आवश्यकताका आधार हेटौंडा उपमहानगरभित्र कुनै घटनामा परी उपचाररत रहेका बिरामीलाई समेत निःशुल्क रगत उपलब्ध गराउने सकिने उनको भनाइ छ ।