शैक्षिक क्षेत्रमा प्रगति गर्दै हेटौंडा क्याम्पस

तु खबर संवाददाता
२०७९ श्रावण १८,बुधबार १५:५४

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ स्थित हेटौंडा क्याम्पसले शैक्षिक क्षेत्रमा तीव्र गतिमा प्रगति गरिरहेको छ । गत बर्षदेखि बहुमुखी क्याम्पसको रुपमा परिणत भएको सो क्याम्पसले कडा अनुशासन र प्रविधिमैत्री वातावरणमा शिक्षण सिकाई क्रियाकलापलाई अब्बल बनाउँदै आइरहेको छ ।

शिक्षाशास्त्र संकाय मात्रै अध्यापन गराउँदै आएको सो क्याम्पसले गत वर्षबाट अन्य शंकायहरुमा पनि अध्यापन सुरु गरेको हो । हाल वाणिज्य र मानविकी संकायमा पनि अध्यापन हुँदै आएको छ । आगामी शैक्षिक सत्रबाट भने प्राविधिक विषयसहित बिआइसिटीइ, बिबिए, बिएसडक्ल्यू, र ब्याचलर इन ल लगायत विषय अध्यापन गराउने गरी तयारी भइरहेको क्याम्पस प्रमुख देवचन्द्र मानन्धरले जानकारी दिए ।

विद्यालयले एसइई उर्तिण गरेर बसेका विद्यार्थीहरुलाई विभिन्न संकायको लागि कक्षा ११ मा भर्ना खुला गरिएको र दिवा कक्षासमेत संचालन भइरहेको जनाएको छ । उसले न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने जनाएको छ । क्याम्पसले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको प्रबन्ध मिलाएको छ । गत वर्ष मात्रै विभिन्न तहका ३२७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको क्याम्पस प्रमुख मानन्धरले जानकारी दिए ।

गत वर्ष एमएडमा ८४.६१ प्रतिशत नतिजा ल्याउँदै नेपाल प्रथम भएको सो क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायन र प्रमाणीकरण (क्यूएए) प्राप्त गर्ने अन्तिम चरणमा रहेको छ । अनुसन्धानमुखी शैक्षिक क्रियाकलापमामा अब्बल बन्दै गइरहेको उक्त क्पाम्पसले ‘अ पियर रिभ्यू जर्नल अफ सोसियल साइन्स’ प्रकाशन गरेको छ । क्याम्पसमा अध्यापन गराइरहेका शिक्षकहरुको क्षमता अधिवृद्धि गराउन ५ जनालाई पिएचडी र ६ जनालाई एमफिल अध्ययनका लागि सहयोग/समन्वय गरिएको क्याम्पस प्रमुख मानन्धरले जानकारी दिए ।

गुणस्तरीय शिक्षामार्फत् दक्ष जनशक्ति उत्पादन गर्ने, उच्च शिक्षाको अवसर सिर्जना गरी प्रादेशिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय आवश्यकतालाई पूरा गर्ने, आधुनिक प्रविधिलाई शिक्षामा समाहित गरी शिक्षण, अनुसन्धान र अन्य क्रियाकलापहरूको गुणस्तर प्रदान गरेर सरोकारवालाहरूको सन्तुष्टिस्तर बढाउने, दक्ष जनशक्तिमार्फत् समृद्ध राष्ट्र निर्माणमा टेवा पुर्याउने , आधुनिक र पर्याप्त सुविधाहरूको विकास गर्ने, क्याम्पसलाई विश्वविद्यालय तहसम्म विकास गर्नेलगायत योजना रहेको क्याम्प्स प्रमुख मानन्धरले बताए ।

त्यस्तै विभिन्न संकाय र विषयका तहगत कक्षाहरू सञ्चालन गर्ने, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरूसँग सम्बन्धन कायम गरी आर्थिक तथा अन्य सहयोग आदानप्रदान गर्ने, विश्वविद्यालय वा देशको ऐन कानूनअनुरूप स्वायत्त शैक्षिक संस्थाहरूसँग सम्बन्धन प्राप्त गरी सैद्धान्तिक तथा प्राविधिक शिक्षाको निर्धारित पाठ्यक्रमहरू शिक्षण गराउने, विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धात्मक भावनाको विकास गराई युगानुकूल सक्षम जनशक्तिको उत्पादन गर्ने, उत्तीर्ण प्रतिशत वृद्धि गरी रोजगारमूलक क्षमताको विकास गर्ने, शिक्षक तथा कर्मचारीहरुलाई तालिम तथा अध्ययन अनुसन्धानमा अझै धेरै सहभागी गराई क्याम्पसको शैक्षिक तथा प्रशासनिक कार्यलाई सशक्त र प्रभावकारी बनाउने र क्याम्पसको वित्तीय अवस्थालाई सुधार गर्ने योजना रहेको उनले बताए ।

शिक्षाशास्त्र विषयको अध्यापन थालनी गर्ने उद्देश्यसहित २०४५ सालमा रत्नज्योति क्याम्पस काठमाडौँको शाखाका रूपमा स्थापित उक्त क्याम्पस २०४७ सालबाट हेटौंडा क्याम्पसमा रूपान्तरण भई आफ्नो यात्रा अघि बढाइरहेको छ ।

भौतिक सुधार हुँदै

आफ्नो नाममा जग्गा तथा भवन नहुँदा १५ बर्षसम्म भूटनदेवी उच्च माध्यमिक विद्यालयको परिसरमा रहेकोे सो क्याम्प्सले हाल हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१६ मा २ कठ्ठा जग्गा खरिद गरेको छ ।

उक्त जग्गामा भवन निर्माणका लागि विश्व विद्यालय अनुदान आयोगबाट ३ करोड रुपैयाँ विनियोजन भइसकेको र बाँकी रकम स्थानीय तह, दातृ संस्थालगायतबाट सहयोग लिइने उद्देश्यसहित निर्माण प्रक्रिया अघि बढाइएको जनाइएको छ । कूल ६ करोड रुपैयाँ लागत अनुमान गरिएको भवनको डिपिआर तयार भइसकेको छ भने हेटौंडा उपमहानगरपालिकाबाट भवन इजाजतपत्र प्राप्त भइसकेको छ । भवन निर्माणपश्चात क्याम्पसले प्राविधिक विषय अध्यापन गराउने जनाएको छ ।

क्याम्पसले ४० जना क्षमताको अत्याधुनिक सेमिनार हल र १८० जना क्षमताको अडिटोरियम हल निर्माण सम्पन्न गरिसकेको छ । त्यस्तै क्याम्पस परिसरमा नै ५ तले भवन निर्माणका लागि डिपिआर तयार भइसकेको र बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटबाट कूल ७ करोड लागत अनुमानमा भवन निर्माणको कार्य अघि बढाइएको क्याम्पस प्रमुख मानन्धरले बताए ।

क्याम्पस परिसरमा निर्माण गर्न लागिएको ५ तले भवनको नमूना तस्वीर

क्याम्पसमा प्लस टु, ब्याचलर र मास्टर्समा गरी हाल २ हजार ६०० विद्यार्थी अध्ययनरत छन् । कूल संख्याको ४० प्रतिशतभन्दा बढी विद्यार्थीहरु बारा, पर्सा, रौतहट, धनुषा, सर्लाही, चितवन र सिन्धुलीलगायतका जिल्लाका स्थायी वासिन्दा रहेका छन् । क्याम्पसले विहान ब्याचलर, दिउँसो प्लस टु र साँझ मास्टर्स तहको अध्यापन गराउँदै आएको छ ।