डेरी उद्योग सञ्चालनको तयारी अन्तिम चरणमा

तु खबर संवाददाता
२०७९ श्रावण १८, बुधबार १४:०५

मकवानपुर । मकवानपुर जिल्ला दूग्ध उत्पादक सहकारी संघ लि द्वारा सञ्चालित दूग्ध प्रशोधन परियोजना (डेरी उद्योग) सञ्चालनको अन्तिम चरणमा पुगेको छ ।

मंगलबार बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष तथा केन्द्रीय दूग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको उपस्थितिमा उद्योगबाट सफलतापूर्वक परिक्षण उत्पादन गरिएको छ । साथै उद्योगमा जडान भएका मेशिनको प्रारम्भिक परिक्षणसमेत गरिएको थियो ।

दूग्ध सहकारी संघका सञ्चालकहरु, कर्मचारी, मकवानपुर जिल्ला सहकारी संघका व्यवस्थापक गोबिन्द दाहाल, दूग्ध विकास संस्थान हेटौंडाका आयोजना प्रमुख नविन शर्मा, हेटौंडा डेरीका संकलन प्रमुख प्रदिप पौंडेल, सञ्चारकर्मीहरु लगायतको उपस्थितिमा परीक्षण उत्पादन गरिएको थियो ।

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ मा सञ्चालनको तयारीमा रहेको उद्योगलाई बागमती प्रदेश सरकार, सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) र सहकारी संघको लगानीमा दूग्ध प्रशोधन उद्योग निर्माण गरिएको हो ।

परिक्षण उत्पादनका क्रममा प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष देवकोटाले जिल्ला दूग्ध उत्पादक सहकारी संघमा संकलित दूधलाई विभिन्न परिकार बनाई बजारिकरण गर्ने उद्देश्य अनुरुप उद्योग सञ्चालनको तयारीमा रहेको बताए ।

जिल्ला दूग्ध उत्पादक सहकारी संघमा आवद्ध र स्थानीय कृषकले उत्पादन गरेका कच्चा दूधलाई संकलन गरी दूधका परिकारहरु तयार गरी विक्री गरिने संघका अध्यक्ष बासुदेव अधिकारीले बताए । अधिकारीले कृषकहरुलाई व्यवसायिक बनाई आत्मनिर्भर बनाउन दूग्ध उद्योग प्रभावकारी हुने बताए ।

उद्योगमा दही, खुवा, आइसक्रिम, पनिर, घ्यु, नौनी, जिरा मोही उत्पादन हुने संघका व्यवस्थापक कुमारमणि दाहालले बताए ।
करिब ६ करोड लगानीमा निर्माण भईरहेको उद्योगमा बागमती प्रदेश सरकारको ५७ लाख २० हजार, सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) को एक करोड ७१ लाख र सहकारी संघको करिब ३ करोड लगानी रहेको व्यवस्थापक दाहालले बताए ।

उद्योगमा एक सिफ्टमा १० हजार लिटर दूधको विभिन्न परिकार बनाउन सक्ने क्षमता रहेको संघका ब्यवस्थापक दाहालले जानकारी दिए ।जिल्लाका ६० वटा सहकारी संस्था आवद्ध रहेको दूग्ध सहकारी संघले दैनिक ४० हजार लिटर दूध खरिद बिक्रीका लागि सहजिकरण गर्दै आइरहेको छ ।