‘राइड सेयरिङ’लाई व्यवस्थित गर्न कानून बनाउँदै बागमती प्रदेश

तु खबर संवाददाता
२०७९ श्रावण १७, मंगलवार १२:०२

मकवानपुर । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले पठाओ, इन, ड्राइभ टुटल जस्ता दुई पांग्रे निजी सवारी साधनमा हुने ‘राइड सेयरिङ’ लाई करको दायरामा ल्याएर व्यवस्थित गर्ने तयारी अघि बढाएको छ । प्रदेशभित्रको यातायात क्षेत्रको व्यवस्थापन नियमन गर्ने जिम्मेवारी अनुरुप प्रदेश सरकारले यस कार्यलाई मर्यादित र व्यवस्थित बनाउन कानून निर्माण गर्न लागिएको जनाएको छ ।

सरकारले दुई पांग्रे यात्रुवाहक सेवा प्रदायकलाई नियमन गर्न र यात्रु सुरक्षाका लागि ऐनको व्यवस्थापन गर्ने गरी ‘राइड सेयरिङ’ सञ्चालन तथा व्यवस्थापन कार्यविधि निर्माणलाई तीव्र पारेको छ । मन्त्रालयले कार्यविधि निर्माणको लागि सचिवको संयोजकत्वमा कार्यविधि मस्यौदा समिति गठन गरी कार्य अगाडि बढाएको छ ।

समिति सदस्यमा मन्त्रालयका प्रवक्ता हरिहर पोखरेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रतिनिधि, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, एकान्तकुना र यातायात व्यवस्था कार्यालय, हेटौडाका प्रमुख सदस्य रहेका छन् । समितिले प्रारम्भिक छलफल सुरु गरेको र विभिन्न देशले यसक्षेत्रमा निर्माण गरेको कानून निर्माणमा यातायात व्यवस्था अध्ययन गरिरहेको बताए ।

श्रम रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलले यसमहिना भित्रमा मस्यौदा समितिले कार्यविधि निर्माणको काम सम्पन्न गर्ने बताए । ‘अब बस्ने प्रदेशसभा वैठकबाट पास गर्ने गरी ऐन विधेयक तयार हुनेछ । असोज महिनाबाट कानुन पूर्णरुपमा लागू गर्ने समितिले काम गरिरहेका छौं ।’, उनले भने, ‘यसक्षेत्र व्यवस्थित नहुँदा वर्षेनी करोडौं राजस्व गुमिरहेको छ ।’ प्रदेश सरकारको आम्दानीको सवैभन्दा ठूलो स्रोत यातायात क्षेत्रको राजस्व हो । प्रदेशले वार्षिक करिब ११ अर्ब रुपैयाँभन्दा बढी राजस्व यातायात क्षेत्रबाट संकलन गरिरहेको छ ।