दुर्घटनामा परेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण १५, आईतवार ०९:२९

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्वर १ बुलबुलेमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान साढे ६ बजको समयमा सुर्खेतबाट मुगुका लागि छुटेको लु १ ज ३७३४ नम्वरको गाडी बेक्र फेल भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

मृत्यु हुनेमा राराछायानाथ नगरपालिका मुगुका दिपक तिरुवा रहेका छन् । यस्तै, उक्त दुर्घटनामा परेर गाडी चालक दलबहादुर बुढा घाइते भएका छन् । घाइते कानकासुन्दरी गाउँपालिका १ जुम्लाका बुढालाई उपचारको लागि प्रतिष्ठान जुम्लामा ल्याउने तयारी भइरहेको जनाइएको छ । गाडीमा ५ जना यात्रु सवार थिए । अन्य यात्रु भने सकुशल रहेका छन् ।