पाल्पा बस दुर्घटना अपडेट : मृतक सबैको सनाखत
बुटवल । पाल्पामा आइतबार भएको बस दुर्घटनामा परेर मृत्यु भएकाहरू सबै जनाको सनाखत भएको छ । बागलुङको बुर्तिवाङबाट रुपन्देहीको बुटवललाई छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिव्दीकोट गाउँपालिका वडा नम्बर २ लघुवामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेहरूमा गुल्मी चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट नगरपालिका ७ का ४० बर्षीय लालबहादुर राना कुमाल, रुपन्देही देवदह नगरपालिका ७ की ८७ बर्षीया डिलसरी कामी, कपिलबस्तु बाणगंगा नगरपालिका २ का ४५ बर्षीय यज्ञबहादुर सोमै, नवलपरासी बर्दघाट नगरपालिका ५ की २४ बर्षीया पूर्णिमा कामी र बागलुङ बडिगाड गाउँपालिका १० की ५५ बर्षीया यमकली थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
उक्त दुर्घटनामा परेर १६ जना घाइते भएका थिए । दुर्घटनामा परी घाइते भई तानसेनको मिसन अस्पतालमा उपचारत १६ जनामध्ये ८ जना घर फर्किएका छन् भने ८ जनाको उपचार भइरहेको जनाइएको छ । अस्पतालमा उपचारत घाइतेहरू बस चालक रूपन्देही कञ्चन गाउँपालिका वडा ५ का ३३ वर्षीय किशन श्रीस, गुल्मी चन्द्रकोटका ३१ वर्षीय चन्द्रबहादुर कामी, कपिलबस्तु वाणगंगा नगरपालिका वडा २ का ४२ बर्षीय पिताम्वर रेग्मी, बागलुङ पाटन नगरपालिका १ का ३० वर्षीय टेकलाल रसाइली, रौतहट वीरेन्द्रवन गाउँपालिका वडा नम्बर ७ का २८ वर्षीय संजय कुमार ठाकुर, म्याग्दी रुमा गाउँपालिका वडा ४ की ३९ वर्षीय सुमित्रा रोका, सोही ठाउँकै ४ वर्षीय विश्वास रोका र रुपन्देही देवदह नगरपालिका ७ का खड्कबहादुर विक रहेका छन्।
म्याग्दीकी सुमित्रा र देवदहका खड्कको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्यको टाउको, ढाड, मुख, हात खुट्टामा चोटपटक लागेको छ । आइतबार अपरान्ह साढे ४ बजेतिर सडकको डिल भासिएर बस दुर्घटना भएको थियो । बस सडकबाट करीव १ सय मिटर तल बस खसेको थियो ।
