दुर्घटनामा परेर ७ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण १, आईतवार १६:११

काठमाडौं । काठमाडौं, चितवन, तनहुँ, बारा र नुवाकोटका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित सडकमा बा.५ ख २८७२ नम्बरको बस र बा ७० प ६१२८ नम्बरको मोटरसाइकल शनिबार एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक नागार्जुन नगरपालिका–१ रानीवन बस्ने २८ वर्षीय रोमन थापा मगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, चितवनको भरतपुर महानगरपालिका–१० स्याउली बजारस्थित सडकमा बा.१३ च २३७१ नम्बरको कारले प्रदेश ३–०१–२२ च ७५५४ नम्बरको भ्यानलाई शनिबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भ्यान चालक नवलपरासी (पश्चिम) प्रतापपुर गाउँपालिका–७ बस्ने २४ वर्षीय अमृत कुमार कुशवाहा रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा ना ६३ प ११०९ नम्बरको स्कुटरमा समेत क्षति पुगेको छ । तीनवटै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

चितवनकै भरतपुर महानगरपालिका–१५ रामपुरस्थित सडकमा ग २ च ९०६२ नम्बरको कारले ना ३३ प १४५५ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले नाएको छ ।

यस्तै, तनहुँको ब्यास नगरपालिका–११ फरकचौरस्थित सडकमा ग १ क ३६८३ नम्बरको बस र ग १५ प ६५०४ नम्बरको मोटरसाइकल शनिबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही नगरपालिका–११ बस्ने २३ वर्षीय बिक्रम सुनार रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी, बाराको महागढीमाई नगरपालिका–५ दहियारस्थित सडकमा प्र।२–०३–०२० प ४१७२ नम्बर मोटरसाइकल शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सर्लाही सेखौना बस्ने २८ वर्षीय अरबिन्दकुमार कुशवाहा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको राजलक्ष्मी अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, नुवाकोटको लिखु गाउँपालिका–६ छहरेस्थित सडकमा ना ६२ प ९५२१ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २७ वर्षीय करण केसी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय अनिस श्रेष्ठलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौं ल्याइएको छ । नुवाकोटको ककनी गाउँपालिका–१ महालक्ष्मीथानस्थित सडकमा बा।४ ख ३७२८ नम्बरको टिपर आइतबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको ।

मृत्यु हुनेमा टिपरमा सवार ककनी गाउँपालिका–१ बस्ने ३२ वर्षीया वसन्ती बलामी रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका टिपरमा सवार ५ जनालाई उपचारको लागि काठमाडौं ल्याइएको छ । प्रहरीले सबै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।