ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३१ जना घाइते

तु खबर संवाददाता
२०७९ असार २४, शुक्रबार १८:१८
सांकेतिक तस्वीर

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । शुक्रबार खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को २ त ३९६१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

मृत्यु हुनेहरुमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का ४६ वर्षीय केशव कार्की रहेका छन् । उक्त ट्याक्टर दुर्घटनामा परेर घाइते भएकाहरुको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार र जिल्ला अस्पताल संखुवासभामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उक्त ट्याक्टरमा ४४ जना सवार थिए । प्रहरीले सवारी चालक चैनपुर नगरपालिका–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।