हेटौंडामा जिल्ला स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता

तु खबर संवाददाता
२०७९ असार २४, शुक्रबार १०:०५

मकवानपुर । अनेरास्ववियु (क्रान्तिकारी) मकवानपुरको आयोजनामा बिहीबार हेटौंडामा जिल्ला स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा भएको उक्त प्रतियोगितामा जिल्लाभरका २४ वटा निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुले सहभागी जनाएका थिए ।

६/६ टिमको छुट्टाछुट्टै चार ग्रुपको प्रतिस्पर्धाबाट प्रथम भएको टिमलाई फाइनल राउन्डमा सहभागी गराइएको थियो । फाइनल राउन्डका प्रतिस्पर्धी चार टिमबीच भएको प्रतिस्पर्धाबाट हेटौंडास्थित जीएस निकेतन मावि प्रथम, मनहरीको युनाइटेड एकेडेमी द्वित्तीय, हेटौंडा ६ स्थित वंशगोपाल मावि तृतीय र ज्ञानदा मावि सान्त्वना भएका थिए ।

प्रथम हुने टिममा जिएस निकेतन माविका छात्र समर्पण न्यौपाने र छात्रा निहारिका चौलागाईं, द्वितीय हुने टिममा युनाइटेड इ. बो. स्कुलका छात्र लेखनाथ मोक्तान र छात्रा सृष्टि शंकर, तृतीय हुने टिममा वंश गोपाल माविका छात्र नवराज दंगाल र छात्रा रोजी सुवेदी र सान्त्वना हुने टिममा ज्ञानदा माविका छात्र विवेक मुक्तान र छात्रा सपना ग्लेन रहेका थिए । विजयी टिमले क्रमशः नगद रु. १० हजार, ६ हजार, ३ हजार र १ हजार रुपैयाँ पुरस्कार राशीसहित प्रमाणपत्र र मेडल प्राप्त गरेका थिए ।

अखिल (क्रान्तिकारी) मकवानपुरका उपाध्यक्ष सुर्यबहादुर गोलेको सभाध्यक्षता तथा नेकपा मकवानपुरका जिल्ला सेक्रेटरी राम घलान (वाटर) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. शंकर प्रसाद उपाध्ययको विशेष आतिथ्यता रहेको थियो ।