उत्पादनसँग जोडिएका कृषकको प्रचार गरौँः मन्त्री हुमागाईं

तु खबर संवाददाता
२०७९ असार २१, मंगलवार १९:१७

मकवानपुर । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुमागाईंले उत्पादनसँग जोडिएका कृषकहरुको प्रचार गरिनुपर्ने बताएका छन् । मंगलबार हेटौंडामा कृषि पत्रकारिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कृषि तथा पशुपन्छी क्षेत्रमा उत्पादनसँग जोडिएका कृषकहरुको प्रचारप्रसार गर्न सञ्चारकर्मीलाई अनुरोध गरेका हुन् ।

उनले मन्त्रालयका कमजोरीलाई औल्याउदैं सबल पक्षको समाचार लेखी मन्त्रालयले गरेका कामहरु किसान समक्ष पुर्याउन अनुरोध गरेका छन् । प्रदेशको समग्र कृषि क्षेत्रलाई कसरी विकास गर्ने भनी मन्त्रालयले तयार पारेको किसान लक्षित मार्ग चित्र भित्रका योजनालाई कार्यान्वयनतर्फ लग्ने कार्य भइरहेको बताए । अनुदानलाई व्यवस्थित गर्दै सामूहिक खेतीलाई प्राथमिकता राखी काम गरिने उनको भनाई छ ।
अन्तरक्रियामा बोल्दै मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेले तथ्यमा रहेर समाचार लेख्दा थप प्रभावकारी देखिने बताए । उनले नेपाल पत्रकार महासंघ मकवानपुर शाखासँग जुन सहकार्यमा अन्तरक्रिया गरियो, त्यसले गर्दा थप सहकार्य र समन्वयमा सहज वातावरण रहेको बताउदैं पँहुचमा होइन साना किसान लक्षित कार्यक्रमहरु कार्यान्वयन गर्न मन्त्रालय लाग्ने बताए ।

उनले वडावडामा प्राविधिक, ल्याब सञ्चालन, थोक बजार केन्द्र निर्माण, प्राङ्गारिक मल प्रयोगमा कार्ययोजना, कोल्ड च्याम्बर निर्माणका साथै गतवर्षकै प्रति लिटर दूध अनुदान कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर काम सुरु गरिने बताए ।

कार्यक्रममा मन्त्रालयका प्रवक्ता एंव कृषि प्रसार अधिकृत झलकनाथ कंडेलले मन्त्रालयले आव २०७९/०८०को कार्ययोजनाहरु प्रस्तुत गरेका थिए । मन्त्रालयको सहकार्यमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । महासंघका अध्यक्ष मणिराज गौतमको अध्यक्षता तथा मन्त्री हुमागाईको प्रमुख अतिथ्यतामा भएको कार्यक्रम भएको हो । कार्यक्रममा मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख ब्रजकिशोर ठाकुरलगायतको उपस्थिति रहेको थियो ।