दुर्घटनामा परेर तामाङको मृत्यु

तु खबर संवाददाता
२०७९ असार २१, मंगलवार १७:२१
सांकेतिक तस्वीर

भक्तपुर । भक्तपुरको गठ्ठाघरमा मंगलबारर दिउँसो सवारी दुर्घटनामा एक जनाको मृत्‍यु भएको छ । दिउँसो १ बजे भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघरस्थित ट्राफिक कार्यालय अगाडि बस र स्कुटी एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार मृत्‍यु हुनेमा रामेछाप घर भई काठमाडौंको जडिबुटीस्थित बर्गर हाउसमा कार्यरत २४ वर्षीया रेजिना तामाङ रहेकी छिन् । उक्त दुर्घटनामा परेर स्कुटी चालक रामेछापको दोरम्बा गाउँपालिका–५ घर भई जडिबुटीमा बस्‍ने १८ वर्षीय सिद्धार्थ मगर घाइते भएका छन् । उनको भक्तपुर ईन्टरनेशनल अस्पताल कौशलटारमा उपचार भइरहेको छ ।

प्रहरीले बस चालक काभ्रेपलान्चोक तिमाल गाउँपालिका–५ नारायणस्थान बस्ने ५० वर्षीय पोते तामाङलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।