बाबुराम भट्टराइलाई माओवादीमा फिर्ता ल्याउन प्रयास भइरहेको छ – पौडेल

तु खबर संवाददाता
२०७९ असार १९, आईतवार १८:३४

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा शिक्षामन्त्री देवेन्द्र पौडेलले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई माओवादी पुनः ल्याउन छलफल भइरहेको जानकारी दिएका छन् ।

जसपा संघीय परिषद अध्यक्ष भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादवबीच सहमतिमै पार्टीबाट अलग हुने सहमति भएपछि भट्टराईलाई ल्याउन माओवादी केन्द्रले प्रयास गरिरहेको उनले बताए । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भट्टराइबीच यस विषयमा छलफल गर्न भेटवार्ता भएको समेत बताएका छन् ।

सञ्चारकर्मीहरुसँग उनले भने ‘बाबुराम भट्टराईलाई माओवादीमै फिर्ता हुन म सार्वजनिक रूपमा आह्वान गर्न चाहन्छु, उहाँ माओवादीमा फर्कने सम्भावना छ । कुराकानी पनि भइरहेको छ ।’ उनले वामपन्थीहरू एक हुने भए समाजवादी केन्द्र बनाउन सकिने पनि बताएका थिए । ‘समाजवादी केन्द्र पनि राम्रो हो । माओवादी मात्रै हुनुपर्छ भन्ने शब्दमा हामी खेल्न चाहान्नौं,’ उनले भने, ‘यो चुनावअघि नै वामपन्थीहरू एक हुने सम्भावना छ । माओवादीमात्र एक हुने होइन, वामपन्थीहरू नै एक हुनुपर्दछ ।’

उनले हिजोका माओवादीहरू मुलभूत रूपमा अब एक हुनेतर्फ अघि बढेको पनि बताए । माओवादी र बाहिर रहेका कम्युनिष्ट घटकलाई वामपन्थी मोर्चामा अघि बढाएर नेतृत्व गर्नुपर्ने बेला आएको पौडेलले बताए ।