बागमती प्रदेश : सत्ता परिवर्तनको लागि हस्ताक्षर संकलन गर्दै कांग्रेस र माओवादी केन्द्र

तु खबर संवाददाता
२०७९ असार १६, बिहीबार १६:२०
file-photo

मकवानपुर । बागमती प्रदेशको सत्ता परिवर्तनको लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरु हस्ताक्षर संकलनमा जुटेका छन् । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेट पास भएलगतै मुख्यमन्त्री परिवर्तन गर्ने गरी कांग्रेस र माओवादीका सांसदहरुले एकीकृत समाजवादीविरुद्ध हस्ताक्षर संकलन कार्य सुरु गरेका छन् ।

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सहज रुपमा सरकारको नेतृत्व गर्ने विषयको विगतको सहमती कार्यान्वयन गर्ने नदेखेपछि उनीहरुले आफ्ना सांसदहरुको हस्ताक्षर संकलनमा जुटेका हुन् । कांग्रेसका सांसदहरुले सहमति अनुसार, तत्काल मुख्यमन्त्री पाण्डेले राजीनामा गरेर सहजै सत्ता हस्तान्तरण गर्नुपर्ने माग गरेका थिए ।

उनीहरुको मागलाई बेवास्ता गर्दै मुख्यमन्त्री पाण्डेले केन्द्रीय नेतृत्वको निर्देशन कुर्ने बताएपछि कांग्रेस र माओवादी केन्द्रका सांसदहरु हस्ताक्षर संकलन जुटेको माओवादी केन्द्रका एक सांसदले जानकारी दिए । उनका अनुसार, आजको प्रदेशसभामा बजेट पास भएपछि सो विषयको थप प्रक्रिया अघि बढ्नेछ ।

६ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व छोड्ने सहमती गर्दै एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष रहेका पाण्डे गत कात्तिक ११ गते गठबन्धनका दलहरु कांग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री पाण्डेलाई तत्कालिन समयमा बागमती प्रदेशका कुल १०९ जना सांसदमध्ये ५९ सांसदको समर्थन रहेको थियो । मुख्यमन्त्री पाण्डेलाई माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाको एक सांसदको समर्थन गरेका थिए ।