बोलेरो दुर्घटनामा परेर तीन जनाको मृत्यु
इलाम । इलाममा बोलेरो जीप दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । जिल्लाको माङसेबुङ गाउँपालिका–२ दहगाउँस्थित भित्री सडकखण्डमा आइतबार दिउँसो बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
मृत्यु हुनेहरुमा पाँचथर मिक्लाजुङ गाउँपालिका–५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र माङसेबुङ गाँउपालिका–६ का ५० वर्षीय प्रकाश राई रहेका छन् । दिउँसो करिब १२ बजे पाँचथरको रविबाट झापाको दमक आउँदै गरेको मे १ ज ४८७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परी हिमप्रसाद र प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने पदमकुमारीको उपचारको लागि दमक अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो ।
