हेटौंडामा परियोजना बैंक निर्माणको लागि १ करोड ४५ लाख बजेट विनियोजन

तु खबर संवाददाता
२०७९ असार १२,आईतवार १८:०८

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले परियोजना बैंकको लागि बजेट विनियोजन गरेको छ । उपमेयर राजेश बानियाँले आइतबार उपमहानगरपालिकाको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै परियोजना बैंक निर्माणको लागि १ करोड ४५ लाख बजेट विनियोजन गरेको जानकारी दिए ।

उपमेयर बानियाँले उपमहानगरपलिकाले नगरको बृहत्तर विकासमा महत्व राख्ने ठुला आयोजनाहरुको सम्भाव्यता अध्ययन, डिजाइन, ड्रइङ, अनुसन्धान तथा परामर्श एवम् आवधिक योजना निर्माण गर्न परियोजना बैंक निर्माण गर्न लागको बताए ।

यस्तै, उपमहानगरपालिकाले हेटौंडामा तामाङ संग्राहालय स्थापना गर्न ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जनसांख्यिक बाहुल्यताका आधारमा तामाङ जातिको भेषभूषा, कला, संस्कृतिलगायतका मौलिक पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्न उक्त बजेट विनियोजन गरेको उपमेयर बानियाँले बताए ।

यस्तै, उपमहानगरपालिकाले सीमान्तकृत तथा गरिब १ हजार ५४१ घरपरिवारको स्वास्थ्य बीमाका लागि ५३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उपमेयर बानियाँले उपमहानगरपालिकामा खानेपानी र विद्युत पनि निःशुल्क उपलब्ध गराइने बताए ।