हेटौंडाका सीमान्तकृत तथा गरिब १५४१ घरपरिवारको स्वास्थ्य बीमाका लागि ५३ लाख बजेट

तु खबर संवाददाता
२०७९ असार १२,आईतवार १७:४१

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले सीमान्तकृत तथा गरिब १ हजार ५४१ घरपरिवारको स्वास्थ्य बीमाका लागि बजेट विनियोजित गरेको छ । उपमेयर राजेश बानियाँले आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम एवम् बजेट प्रस्तुत गर्दै उपमहानगरपालिकाभित्र रहेका घरपरिवारको स्वास्थ्य बीमाका लागि ५३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् ।

उपमेयर बानियाँले उपमहानगरपालिकामा खानेपानी र विद्युत पनि निःशुल्क उपलब्ध गराइने बताए । । यस्तै, उपमहानगरपालिकले मकवानपुरगढी गाउँपालिकास्थित एतिहासिक मकवानपुरगढी दरबार परिसरमा राष्ट्र निर्माता स्वर्गीय राजा पृथ्वीनारायण शाह र तत्कालिन मकवानपुर राज्यको सेनापति कनक सिं बानियाँको प्रतिमा राख्ने भएको छ ।

यस्तै, उपमहानगरपालिकाले हेटौंडा –५ स्थित रहेको पिप्ले रंगशालाको पूर्वाधार निर्माणको लागि २५ लाख, हेटौंडामा अर्को मिनी रंगशाला निर्माणको लागि ८० लाख तथा फुटबल एकेडेमी संचालनको लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।