प्रतिनिधिसभाः गणपुरक संख्या पुगेन, बैठक स्थगित

तु खबर संवाददाता
२०७९ असार १२,आईतवार १५:५८
file-photo

काठमाडौँ । गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाको लागि स्थगित भएको छ । प्रतिनिधिसभामा आइतबार सभामुख अग्निप्रसाद सापकोटाले नीति अध्ययन प्रतिष्ठान विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेकपा एमालेका सांसद झपट रावलले गणपूरक संख्या नपुगेको भनी प्रश्न उठाएका थिए ।

संसदमा कुनै प्रस्ताव निर्णयार्थ पेश गर्दा कुल सदस्य संख्याको एक चौथाई सदस्य अर्थात ६९ जना उपस्थित हुनुपर्ने संसद नियमावलीमा उल्लेख छ । सांसद रावलले प्रश्न उठाएपछि सभामुख सापकोटाले सदस्य संख्या यकीन गर्न संसद सचिवालयलाई निर्देशन दिएका थिए ।

३ मिनेट समय दिएर सांसदको संख्या गणना गर्दा ६३ जनामात्र उपस्थित भएको पाइएको थियो । त्यसपछि सभामुख सापकोटाले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।