स्थगित हेटौंडा नगरसभा बैठक आज
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको ११ औं नगरसभा आज हुने भएको छ । असार १० गतेको लागि तोकिएको हेटौंडा नगरसभा नेकपा एमालेले बहिष्कार गरेपछि आजसम्मका लागि स्थगित भएको थियो ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले नगरसभामा गणपुरक संख्या नपुगेको भन्दै आजसम्मका लागि नगरसभा स्थगित गरेकी थिइन् । हेटौंडा नगरसभा आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
हेटौंडा उपमहानगरपालिकाको नगरसभा कुल ९५ सदस्यमध्ये ४० जनाले मात्र उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेका थिए । १० गते बस्ने भनिएको नगरसभामा एमालेका सदस्यहरु सभाहल बाहिर बसेर बहिष्कार गरेका थिए ।
एमालेले मेयरको अधिकार कटौती गर्नुपर्ने माग राख्दै पहिलो कार्यपालिकाको बैठकमा बैठक संचालनको कार्यविधि संशोधनको प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमाथि सहमति नजुटेपछि बैठक बहिष्कार गरेका थिए ।
