हेटौंडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ असार ११, शनिबार १५:१७

मकवानपुर । मकवानपुरको हेटौंडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ हनुमानगेट नजिक तीन वटा सवारीसाधन एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा नवलपरासी बर्दघाट–१ का सन्जीव राना रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, हेटौंडाबाट विरगंजतर्फ जाँदै गरेको बा ८ ख ६३४६ नम्वरको बस र विपरित दिशाबाट आउँदै गरेको लु २ ख २७५८ नम्वरको ट्याङ्कर र बसको पछाडिबाट आइरहेको लु ४६ प ६१३० नम्वरको मोटरसाईकल बसमा ठोक्किदा उनी गम्भीर घाइते भएका थिए ।

घाइते उनको चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । मृतक राना ट्याङ्कर चालक हुन् ।

यस्तै, सोही दुर्घटनामा परेर अन्य १५ जना घाइते भएका छन् । घाइतेमध्ये मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको छ । उनको चितवन अस्पतालमा नै उपचार भइरहेको छ भने अन्यको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।