ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकामा शुक्रबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लालीगुराँस नगरपालिकाको लसुनेबाट बसन्तुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त नम्बरको ट्याक्टर वसन्तपुर बजार छेउ जिरोप्वाइन्टमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ट्याक्टरमा सवार लालीगुराँस–७ सुङनामकी ४६ वर्षीया पवित्राकुमारी मगर रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । प्रहरीका अनुसार, उक्त दुर्घटनामा परेर दुई जना सख्त घाइते भएका छन् । घाइते हुनेमाहरुमा ट्र्याक्टर चालक २२ वर्षीय जयन्तकुमार लिम्बू र ट्याक्टरमा सवार २२ वर्षीय ललितकुमार मगर रहेका छन् ।
उनीहरुको वसन्तपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जनाइएको छ । राति बाक्लो हुस्सु लागेका कारण चालकले सडक देख्न नसक्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।
