दोहोरो अंकले बढ्यो शेयरबजार
काठमाडौं । आज साताको अन्तिम दिन शुक्रबार शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बिहीबार ४६.१४ अंकले घटेर १८४७ को विन्दुमा पुगेको नेप्से परिसूचक आज १३.७८ अंकले बढेर १८६२ को विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३५ लाख १० हजार २९३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १४ करोड ५ लाख ५४ हजार ७५ रुपैयाँको कारोबार भएको छ । बिहीबार नेप्सेमा सूचीकृत २३७ कम्पनीको ५० लाख ८ हजार ७ सय ७१ शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४९ करोडको शेयर कारोबार भएको थियो ।
नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज म्युचुअल फण्ड समूह बाहेकका सबै सूचकमा हरियाली छाएको छ । सर्वाधिक जीवन बीमा समूहको १३१.४६ रुपैयाँ र निर्जिबन बीमा समूहको १२८.९३ रुपैयाँले बढ्न पुगको छ । साथै पुँजीबजार संघर्ष समितिका तिलक कोइरालाले आजदेखि आमरण अनसन तोडेका छन् ।



