कैलाश गाउँपालिकाः स्वास्थ्य, शिक्षा, खानेपानी र सञ्चारतर्फ यस्ता छन् योजना
मकवानपुर । कैलाश गाउँपालिकाले एमबिबिएस डाक्टर र अल्ट्रासाउन्ड सुविधासहितको कैलाश अस्पताल यसै आर्थिक बर्षभित्र संचालनमा ल्याउने जनाएको छ । पालिकाको दशौं गाउँसभाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले अति विपन्न मिर्गौला रोगीहरूका लागि निःशुल्क डायलासिस सुविधा दिइने जनाएका छन् । त्यस्तै न्यून आय भएका ५ सय घर परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिनेसमेत जनाइएको छ ।
स्वास्थ आमा, स्वस्थ शिशु कार्यक्रम अन्तरगत गर्भवती तथा सुत्केरी महिलाहरूको स्वास्थ्य समस्या समाधानका लागि निःशुल्क एम्बुलेन्स सेवा दिइने, महिलाहरूको लागि स्तन, पाठेघरसम्बन्धी क्यान्सर र आङ खस्ने सम्बन्धी रोगको शिविर संचालन गरिने, जनाइएको छ ।
खानेपानी तथा सरसफाइतर्फ ‘स्वच्छ र सुन्दर गाउँघर स्वस्थ जीवनको आधार’ लाई मूर्त रूप दिन गाउँपालिकाभरका टोल बस्तीहरूमा खानेपानीको प्रवन्ध गरिने, मुहानदेखि मुखसम्म सुरक्षित पानी स्वस्थ जिन्दगानी भन्ने अभियानलाई जनजनमा पुर्याई हरेक क्षेत्रमा सरसफाइ कार्यक्रम अगाडि बढाइने, एक घर एक धारा अभियानलाई कार्यान्वयन गरिने जनाइएको छ ।
त्यस्तै संस्कृति प्रवद्र्धनतर्फ भाषा, कला, लोक संगित, संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि विशेष कार्यक्रम संचालन गरिने भएको छ । लैंगिक समानता, सामाजिक न्याय तथा समावेशीकरणतर्फ विपन्नसंग अध्यक्ष कार्यक्रम अन्तरगत विपन्न, दलित, सिमान्तकृत वर्गका आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका घर परिवारलाई स्वास्थ्य उपचार, उच्च शिक्षा अध्ययन र लघु व्यवसायका लागि अनुदानसहित सहयोग गरिने जनाइएको छ ।
एक वडा एक खेलमैदान निर्माण कार्यक्रममा प्राथमिकता दिइने, अध्यक्ष कप फुटबल प्रतियोगिता र उपाध्यक्ष कप भलिबल प्रतियोगिता संचालन गरिने जनाइएको छ । चुनिया नामटार हुँदै पालिकाको केन्द्रसम्म पुग्ने मूख्य सडकलाई स्तरोन्नति गरी बाह्रै महिना चल्ने गरि विकास गर्ने र आगामी ५ बर्षभित्रमा पक्की मोटरबाटो निर्माण गर्ने, कालिकाटार गोगने जोड्ने सडक, घुमाउने बुकुटी हुँदै राक्सिराङ–१ जोड्ने सडक, भार्ता मानेभञ्ज्याङ दमारे अल्छे कप्सेरी पकनी सडक, बेतिनी मर्याङकोट आमडाँडा कैलाश ५ सागिने सडकहरूको स्तरोन्नतिका लागि संघ तथा प्रदेश सरकारसंग पहल गर्ने, सडक सञ्जालहरूको समग्र स्तरोन्नति तथा विकासको लागि पालिकास्तरीय सडक गुरुयोजना बनाई अभिलेखिकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै भवन तथा शहरी विकासतर्फ भूमि आयोगसंगको सहकार्यमा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई नेपाल सरकारको नीति नियम बमोजिम पूर्जा वितरण गरी भूमिसम्बन्धी समस्या समाधान गरिने, पालिकाको केन्द्रमा आधुनिक शहर निर्माण गर्न गुरूयोजना तयार गरी लागू गरिने, आगलागी भएको पालिकाको पुरानो भवनमा सुविधा सम्पन्न कैलाश सभाहल निर्माण गरिने, उर्जा तथा साना जलविद्युत, बैकल्पिक उर्जातर्फ उज्यालो कैलाश कार्यक्रम अन्तरगत आगामी ५ बर्ष भित्रमा सबै घरधुरीहरूमा बिजुली बत्तिको सुविधा पुर्याइने जनाइएको छ ।
त्यस्तै संचारतर्फ कैलाश–२ सानो डाँडाखर्क र कैलाश–३ गाउँपालिका भवन क्षेत्रमा द्रुतगतिको ईन्टरनेट सुविधासहितको मोबाइल टावर निर्माण गर्न आवश्यक पहल गरिने, गाउँपालिका केन्द्र लगायत सबै वडा कार्यालयहरूमा संचार पहुँच पु¥याउन इन्टरनेट सुविधा व्यवस्था गरिने, विपद व्यवस्थापन र वारूण यन्त्र संचालन गरिने ,जोखिममा रहेका बस्ती स्थानान्तरण गरी सुरक्षित स्थानमा एकीकृत बस्ती निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पालिकाले आपतकालीन विपद् व्यवस्थापन योजना अनुसार बाढी पहिरो, नदि कटान, आगलागी, चट्याङ, विद्युतीय कारण तथा रोगजन्य महामारी लगायत अन्य दैविक कारणबाट उत्पन्न हुने विपदहरूलाई समयमै व्यवस्थापन गर्नका लागि विशेष बजेट विनियोजन गर्ने जनाएको छ ।
संस्थागत विकास तथा सेवा प्रवाहतर्फ कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरूको सहजताका लागि हेल्प डेस्क संचालन गरिने, कार्यालयको अभिलेख तथा व्यवस्थापनलाई चुस्त दुरूस्त बनाई प्रविधिमैत्री एवं सबै वडा कार्यालयलाई विद्युतीय सुशासनमा आवद्ध गरिने, सूचना प्रविधितर्फ आमसंचार क्षेत्रलाई व्यवसायिक बनाउन पालिकाले सहयोग गर्ने, पालिका क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय क्षेत्र, सामाजिक सांस्कृतिक लगायत विभिन्न पक्षको अनुसन्धान गरि लेखनबृत्ति कार्यक्रम संचालन गरिने, छापामाध्यम, अनलाइन मिडिया, रेडियो, टेलिभिजन तथा श्रव्यदृष्य माध्यमलाई उपयोग गरिने । पत्रकारिता क्षेत्रको विकासका लागि लगानी गर्ने, पालिकामा पत्रकारिता तालिम दिइने भएको छ ।
