कैलाश गाउँपालिकाः प्राविधिक शिक्षा अध्ययनमा छात्रवृत्ति, चेली प्रोत्साहन कार्यक्रम

तु खबर संवाददाता
२०७९ असार १०, शुक्रबार १४:१८

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययनमा छात्रवृत्तिदेखि चेली प्रोत्साहन कार्यक्रमलाई अघि बढाउने भएको छ । पालिकाको दशौं गाउँसभाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा प्राविधिक शिक्षा अध्ययनमा छात्रवृत्तिदेखि चेली प्रोत्साहन कार्यक्रम अघि बढाउने जनाइएको हो ।

गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।  गाउँपालिकाले कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ । आगामी बर्षभित्र कम्तिमा २ वटा दूग्ध सहकारी स्थापना गरी दूध संकलन तथा पशुपालन व्यवसायलाई अभिबृद्धी गर्ने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘पशु रोग हटाऔं, पशु उत्पादन बढाऔं’ कार्यक्रममार्फत् पशुमा लाग्ने खोरेत, पिपिआर र रेबिज रोग उन्मुलन गर्न निःशुल्क खोप अभियान संचालन गरिने जनाइएको छ । त्यस्तै जडिबुटी प्रशोधन गर्ने उद्योग स्थापना गरिने जनाइएको छ । स्थानीय जडिबुटी तथा कच्चा पदार्थमा आधारित उद्योग खोल्न लगानीकर्तालाई अनुदानको र पालिकाभित्र स्थापना हुने उद्योगका लागि ३ बर्षसम्म करमा छुटका साथै विद्युत र पानी महसुलमा अनुदान दिइने जनाइएको छ ।

त्यसैगरी प्रजातान्त्रिक सेनानी स्वर्गीय सूर्यबहादुर डिम्डुङको स्मृतिमा शान्ति बाटिका निर्माण गरिने भएको छ । साहसिक पर्यटन, ट्रेकिङ रूट, सुविधासम्पन्न होमस्टे, स्थानीय संस्कृतिको सम्बद्र्धन र संरक्षण गर्न संग्राहलय निर्माण गरी पर्यटकीय गन्तव्यको निर्माण गर्ने जनाइएको छ । कैलाशदेखि बैकुण्ठसम्म जोड्ने जिपलाइन तथा गुप्तेश्वरी गुफा धार्मिक क्षेत्रको डिपिआर निर्माण गरी संघ र प्रदेश सरकारमार्फत् आवश्यक बजेटका लागि पहल गरिने भएको छ ।

पालिकामा सहकारी पसल स्थापना गरी सस्तो, सुलभ मूल्यमा खाद्य सामग्री विक्रि वितरणको व्यवस्था गरिने जनाइएको छ । पालिकाभित्र क वा ख वर्गका वित्तीय संस्था स्थापनाका लागि पहल गरिने जनाइएको छ ।

चिकित्सा शिक्षा, इन्जिनियरिङ, सूचना प्रविधि, पाइलट लगायतका प्राविधिक शिक्षा पढ्न भर्ना भएका विद्यार्थीहरूलाई प्रोत्साहन छात्रबृत्ति प्रदान गरिने भएको छ । एसईई दिई बसेका सम्पूर्ण विद्यार्थीहरूलाई पालिकाभित्र निःशुल्क आधारभूत कम्प्युटर तालिमको व्यवस्था मिलाइने भएको छ । सिटिइभिटीबाट मान्यता प्राप्त प्राविधिक विद्यालयको स्थापना र संचालन गर्ने पालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

चेली प्रोत्साहन कार्यक्रम अन्तरगत गाउँपालिका क्षेत्र भित्रका कम्तिमा १०+२ पास गरी २० बर्ष वा सो भन्दा माथि उमेर पुगि विवाह गर्ने चेलीलाई सम्मान तथा प्रोत्साहन स्वरूप २० हजार रूपैयाँ प्रदान गरिने भएको छ ।