बागमती प्रदेश : २४ दिनमा ३३ अर्बको बजेट खर्च गर्नुपर्ने चुनौति

तु खबर संवाददाता
२०७९ असार ८,बुधबार १०:३४
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेश सरकार यस वर्ष पनि बजेट कार्यान्वयन कमजोर देखिएको छ । विगतकै तुलना चालु आर्थिक वर्षमा पनि प्रदेश सरकारको बजेट खर्च न्यून हुने निश्चित भएको छ । चालु आवको समय अवधि सकिन २४ दिन बाँकी रहँदासम्म प्रदेश सरकारले ४२ दशमलव ४२ प्रतिशतमात्र बजेट खर्च गर्न सकेको छ ।

चालु आर्थिक वर्ष सकिन २४ दिन बाँकी रहँदा वार्षिक बजेटको ५८ प्रतिशत खर्च गर्न बाँकी छ । प्रदेश सरकारलाई आगामी २४ दिनमा ३३ अर्ब भन्दा बढी बजेट खर्च गर्नुपर्ने चुनौती थपिएको छ । प्रदेश सरकारले आगामी असार मसान्तसम्ममा ३३ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ४२ प्रतिशतमात्र बजेट खर्च गर्न सफल भएको छ । चालु आर्थिक वर्षमा करिव ७० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य लिएको प्रदेश सरकारले बजेट खर्चको लक्ष्य पूरा गर्न आगामी २४ दिनमा कम्तीमा २८ प्रतिशत बजेट खर्च गर्नुपर्ने छ ।

प्रदेश सरकारको विभिन्न निकायहरुले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा कुल बजेटको ४२ दशमलव ४२ प्रतिशतमात्र खर्च गरेका छन् । ५७ अर्ब ७२ करोड ९ लाख रुपैयाँको बजेटमध्ये प्रदेश सरकारका विभिन्न मन्त्रालय र निकायले २४ अर्ब ४८ करोड ९८ लाख रुपैयाँ हालसम्म खर्च गरेका छन् ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि विनियोजन गरेको कुल बजेट मध्ये चालु खर्च तर्फ ४६ दशमलव ८२ प्रतिशत, पुँजीगत तर्फ ३६ दशमलव ५८ प्रतिशत र वित्तीयतर्फ ६५ प्रतिशत खर्च गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि चालु खर्चतर्फ २६ अर्ब १६ करोड ६६ लाख रुपैयाँ, पुँजीगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख रुपैयाँ र वित्तीय तर्फ २ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।