मकवानपुरमा भोलिबाट ५ देखि १२ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाइने

तु खबर संवाददाता
२०७९ असार ८,बुधबार ०९:२९

मकवानपुर । मकवानपुरमा यही असार ९ गते अर्थात भोलि बिहीबारबाट ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको फाइजर खोप लगाइने भएको छ । जिल्लाका ५ वर्ष पूरा भई १२ वर्ष ननाघेका बालबालिकालाई कोभिडविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार ९ गतेदेखि १५ गतेसम्म पहिलो चरणमा मकवानपुरसहित विभिन्न जिल्लामा खोप अभियान संचालन गर्न निर्देशन दिएसँगै भोलिदेखि बालबालिकाहरुलाई खोप लगाउन लागेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

उनका अनुसार, उक्त खोप जिल्लाका ६१ हजार ७५ बालबालिकालाई लगाउन लागिएको हो । ९१ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको उक्त खोप विद्यालयमा नै गएर बालबालिकालाई लगाउने भएको छ । त्यसका लागि जिल्लाभरका ३ सय ९० स्वास्थ्यकर्मी खटाइने छ ।

उक्त खोप लगाएपछि बालबालिकाहरुलाई टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, खोप लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, विविरा तथा डाबर आउने जस्ता समस्या हुन सक्ने उनको भनाईछ । यो खोप सुरक्षित रहेकोले ढुक्क भएर बालबालिकालाई लगाउन समेत उनले सबैलाई आग्रह गरे ।

सो खोप लगाउन कोभिड–१९ पुष्टि भएको ३ महिना कटेको हुनुपर्ने र ज्वरो आएको बालबालिकालाई लगाउन नमिल्ने सूचना अधिकारी घिमिरेले बताए । यो खोप पहिलो मात्रा खोप लगाएको २१ दिनपछि दोस्रो मात्रा दिइनेछ ।