कार दुर्घटनामा परेर ४ वर्षीय बालकको मृत्यु
सर्लाही । सर्लाहीमा कार दुर्घटना हुँदा ४ वर्षीय बालकको मृत्यु भएको छ । गएराति धनकौल गाउँपालिका–५ स्थित छठी घाट पुलमा बिआर ०५ एआर ५१३७ नम्वरको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा परेर रौतहट वृन्दावन नगरपालिका–४ हरैया बस्ने ४ वर्षीय बालक गम्भीर यादव रहेका छन् । उनको दुर्घटनामा परेर घटनास्थलमै मृत्यु भएको हो । ९ जना सवार रहेका उक्त कार आफैं अनियन्त्रित भएर पुलबाट १५ फिट तल खसेर थियो ।
उनीहरू छतौनामा छठियारको भोज खाएर हरैया फर्किरहेका थिए । त्यसैक्रममा दुर्घटना भएको हो । कारमा सवार सात जना घाइते छन् । उनीहरुलाई उपचारको लागि एड्भान्स संजिवनी अस्पताल बरहथवा लगिएको छ । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापश्चात कार चालक भने फरार छन् । उनको खोजीकार्य हुनुका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ । बालकको शव सोही अस्पतालमा राखिएको छ ।
