सामाजिक सुरक्षा कोषबाट झण्डै डेढ अर्ब दाबी भुक्तानी

तु खबर संवाददाता
२०७९ असार ४, शनिबार १५:२६
file-photo

काठमाडौं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झण्डै डेढ अर्ब भुक्तानी गरिसकेको जनाएको छ । कोषले यही असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा रु एक अर्ब ४३ करोड ५३ लाख भुक्तानी गरेको जनाएको हो ।

कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १० हजार ५९६ योगदानकर्तालाई रु १९ करोड ४५ लाख ६ हजार ९७९ र ४९६ योगदानकर्तालाई दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत रु एक करोड ९१ लाख ३१ हजार १०६ दाबी भुक्तानी दिएको हो ।

यस्तै, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत २१० योगदानकर्ताका परिवारलाई रु तीन करोड तीन लाख ६६ हजार ३९३ र वृद्ध अवस्था सुरक्षा योजनाबापत १७ हजार ७७२ योगदानकर्तालाई रु एक अर्ब १९ करोड १३ लाख १८ हजार ५७० भुक्तानी गरिएको कोषले जनाएको छ ।

कोषमा हालसम्म १८ अर्ब ८३ करोड रुपैयाँ योगदान रकम संकलन भएको छ । जेठ मसान्तसम्म कोषमा तीन लाख ४० हजार ८४६ योगदानकर्ता सूचीकृत भएका छन् । सो अवधिमा १७ हजार १३० रोजगारदाता आबद्ध भएका छ ।