हेटौँडा अस्पताल: जनशक्ति र पूर्वाधार अभावले समस्या
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा उपचारको लागि आउने बिरामीको चापको अनुपातमा दक्ष स्वास्थ्य जनशक्ति, उपकरण र पूर्वाधार व्यवस्थापन नहुँदा सेवाग्राहीहरुले सास्ती खेप्दै आएका छन् ।
स्वीकृत वेड संख्या ५० मात्रै भएपनि अस्पताल विकास समितिले ६० थप गरी कूल ११० वेड क्षमतामा अस्पताल संचालन गर्दै आइरहेको छ । तर, विरामीको चाप दिनप्रतिदिन बढ्दै गएपछि उपलब्ध जनशक्ति र उपकरणबाट विरामीहरुलाई सेवा प्रवाह गर्न समस्या भएको हो ।

अस्पतालको निर्माणाधीन भवन
स्थानीय अस्पतालबाट उपचार सेवा लिन सास्ती भएपछि विरामीहरु चितवन वा काठमाडौँ जानुपर्ने बाध्यता रहेको छ । दैनिक सेवा लिन आउने बिरामीको अनुपातमा जनशक्तिसँगै पूर्वाधार अभाव हुँदा अनपेक्षित सेवा प्रवाह गर्न कठिनाई भएको अस्पताल प्रशासन बताउँछ । पूर्वाधार र उपकरणको व्यवस्था भएमा अहिलेको जनशक्तिले थप बिरामीलाई सेवा दिन सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटा बताउँछन् ।
उनी गुणस्तरीय सेवाका लागि अस्पताल प्रतिबद्ध रहेको र यहाँ उपलब्ध साधन, स्रोत, जनशक्ति र पूर्वाधारका आधारमा चितवनलगायतका जिल्लाका सरकारी अस्पतालसरह सेवा र सुविधा प्रदान गरिँदै आएको दावी गर्छन् । हाल निर्माणको अन्तिम चरणमा पुगेको अस्पताल भवन हस्तान्तरण भएपछि उपचारमा थप सहजतासँगै गुणस्तरीय सेवा प्रदान गर्न सहज हुने उनको भनाई छ ।
विरामीको चाप बढ्दै
हरेक वर्ष बिरामीको चाप बढ्ने गरेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । २०७८ जेठ १ गतेदेखि ३० गतेसम्ममा सो अस्पतालबाट कूल ६ हजार ७८७ जना विरामीले उपचार सेवा लिएका थिए । २०७९ जेठ १ गतेदेखि २७ गतेसम्मको तथ्याङ्कमा उपचार सेवा लिने विरामीको संख्या १२ हजार ८५८ पुगेको उल्लेख छ ।
अघिल्लो बर्षको तुलनामा यो बर्ष जेठ महिनामा मात्रै थप ६ हजार ७१ जना विरामीले उपचार सेवा लिएका छन् । जेठ महिनाको २७ गतेसम्ममा ९ हजार ७५७ जना नयाँ विरामी र ३ हजार १ जना उपचार सेवा लिइरहेका विरामी गरी कूल १२ हजार ८५८ ले सेवा लिएका हु्न् ।
विशेषगरी नागरिकहरुमा स्वास्थ्य जाँच गराउनुपर्छ भन्ने चेतना अभिवृद्धि हुँदै गएको, आवश्यकताभन्दा पनि कतिपय जाँच गरिहालौँ न त भन्दै नागरिकहरु अस्पतालमा आउने गरेको, र स्वास्थ्य बीमा कार्यक्रमको प्रभावले गर्दा विरामीको चाप बढेको अस्पतालको बुझाई छ । सोही अनुसार अस्पतालको स्तरोन्नति गर्दै लैजानुपर्ने भएपनि संघ, प्रदेश र स्थानीय सरकारले चासो नदेखाउँदा समस्या भएको हो ।

अस्पतालको प्रशासनिक भवन
स्वास्थ्य जनशक्ति अभाव
अस्पतालमा स्थायी चिकित्सक ६ जना, स्वास्थ्य जनशक्ति २ जना र १ जना फिजिओथेरापिष्ट रहेका छन् । हाल अस्पतालमा क्रमश छात्रवृत्ति करारमार्फत् १४ जना, समिति करारमार्फत् ११ जना र दरबन्दी करारमार्फत् ३ जना (कन्सल्टेन्ट डाक्टर र स्वास्थ्यकर्मी) ले सेवा प्रवाह गरिरहेका छन् । कन्सल्टेन्टको दरबन्दी ११ जना रहेको भएपनि हाल ३ जना अध्ययन बिदामा र एक जना चितवनस्थित अस्पतालमा रहेको अस्पताल प्रशासन बताउँछ ।
अस्पतालको स्वीकृत वेडसंख्या र चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी थप हुँदा मात्रै विरामीले अपेक्षित सेवा प्राप्त गर्न सक्ने देखिएको छ । २०० वेड संख्या स्वीकृत गर्न र करिब ३ सय स्वास्थ्य जनशक्ति उपलब्ध गराइदिन अस्पतालले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयलाई प्रस्ताव गरेको छ ।
आईसियु र डायलासिस सेवा प्रवाह
अस्पतालले सघन उपचार कक्ष (आईसीयू), मिर्गौला रोगीका लागि डायलासिससँगै विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । दैनिक १२ जनाले डायलासिस सेवा लिँदै आएका छन् । अस्पतालमा १७ वेडको आईसीयू र डायलासिस मेसिन ८ वटा रहेकामा थप ८ वटा डायलासिस मेसिन ल्याउने तयारी भइरहेको मेसु डा. सापकोटा बताए । उनले नयाँ भवनमा नवजात शिशुको उपचारका लागि १० वेडको एनआईसीयू र १४ वर्षसम्मका बालबालिकाको उपचार गर्ने गरी १० वेडको पीआईसीयूको व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिए ।

अस्पतालको आइसियु कक्ष
अस्पतालको सिफारिसमा हेटौंडामै सिटिस्क्यान सेवा प्रवाह हुँदै आएको र सोही अस्पतालमै पनि आवश्यक उपकरण जडान भइसकेकोले असार अन्तिमदेखि अस्पतालबाटै उक्त सेवा प्रवाह गरिने जनाइएको छ । त्यस्तै एमआरआई मेसिन उपलब्ध भइसकेको र जडान गर्न बाँकी रहेको जनाइएको छ ।
अस्पतालले सबै किसिमका ल्याब सेवा, एक्स–रे सेवा र हप्तामा ६ दिन (शनिवारबोहक) अप्रेशन सेवा प्रदान गर्दै आइरहेको छ । सोही अस्पतालबाट सुत्केरी, हाडजोर्नी, पित्तथैली, हर्निया, हाइड्रोसिल, नाक, कान र घाँटीलगायत विभिन्न अप्रेशन हुँदै आएको छ ।
त्यस्तै फार्मेशी सेवा, पीसिआर ल्याब सेवा, फिजिओथेरापी सेवा, ओपिडी सेवा, भिडियो एक्स रे सेवा, पोषण सेवा, एआरटी सेवा, सामाजिक सेवा इकाइमार्फत् विपन्न नागरिकलाई सामाजिक सेवा, प्रदान गरिँदै आएको छ । सो सेवा मार्फत् विपन्न नागरिकले स्थानीय तहको सिफारिसमा १० हजारसम्मको निशुल्क उपचार सेवा पाउने प्रावधान रहेको छ । त्यसैगरी विरामी राशन सेवा, स्वास्थ्य बीमा सेवा, एचडियु सेवा, ओसीएमसी सेवा, एम्बुलेन्स सेवा प्रवाह भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालको निर्माणाधीन भवन
