लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
रुपन्देही । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
उक्त नीति तथा कार्यक्रम गत जेठ २५ गते बसेको प्रदेशसभामा प्रमुख अमिक शेरचनले प्रस्तुत गरेका थिए । प्रदेशसभाको आजको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेशसभाको बहुमतले नीति तथा कार्यक्रम पारित गरेको हो ।
सभामा सम्बोधनका क्रममा मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारको ‘समृद्धि प्रदेश आत्मनिर्भर लुम्बिनी’ को नारालाई यस वर्षको बजेटबाट सम्बोधन गरिने गरी नीति तथा कार्यक्रम ल्याइएको बताए । उनले प्रदेशको गौरवको आयोजना, प्रदेश सरकारले शिक्षा, स्वास्थ्य कृषिका क्षेत्रमा लगानी गर्ने जनाउँदै त्यसका लागि प्रदेश सरकार जिम्मेवार भएको बताए ।
