मुलुकको चालू खाता घाटा ५ खर्ब ४७ अर्बमाथि 

तु खबर संवाददाता
२०७९ जेष्ठ २७,शुक्रबार १८:०७
file-photo

काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा मुलुकको चालू खाता घाटा बढेर ५ खर्ब ४७ अर्ब ३६ करोड पुगेको छ । राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्षको बैशाखसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै सो बारे जानकारी गराएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो चालु खाता २ खर्ब ५१ अर्ब २९ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १४ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब ५७ करोडले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१.३ प्रतिशतले कमी आई रु ७ अर्ब ९९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १८.२ प्रतिशतले वृद्धि भई रु १६ अर्ब ६५ करोड पुगेको बैंकले जनाएको छ ।