इरानमा १२ जनालाई सामूहिक मृत्युदण्ड
काठमाडौं । इरानको दक्षिण पूर्वको जेलमा १२ जना कैदीहरूलाई सामूहिक मृत्युदण्ड दिइएको छ । मृत्युदण्डको बढ्दो संख्याबारे चिन्ता बढिरहेका बेला लागूऔषध वा हत्याको आरोपमा दोषी ठहर भएका ११ पुरुष र एक महिला गरी १२ जनाको सामूहिक मृत्युदण्ड दिइएको एक गैरसरकारी संस्थाले जनाएको छ ।
उनीहरुलाई सोमबार बिहान अफगानिस्तान र पाकिस्तानसँगको सिमाना नजिक रहेको सिस्तान–बलुचेस्तान प्रान्तको जाहेदानको मुख्य जेलमा फाँसी दिइएको नर्वेस्थित इरान मानव अधिकारले जनाएको छ ।
सामूहिक मृत्युदण्ड दिइएका १२ जनामध्ये ६ जनालाई लागूऔषध र बाँकी ६ जनालाई हत्याको अभियोग लगाइएको थियो । तर, कुनै पनि मृत्युदण्डको इरानी सञ्चार माध्यमहरू र स्थानीय अधिकारीले पुष्टि गरेको छैनन् ।
