हेलिकप्टर उडानमा पनि दुई जना पाइलट अनिर्वाय गर्ने

तु खबर संवाददाता
२०७९ जेष्ठ १७,मंगलवार १८:३०
file-photo

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले अब हेलिकप्टरमा पनि दुई जना पाइलट अनिर्वाय गर्ने निर्णय गरेको छ । क्यानका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार, आगामी असार १७ गते (१ जुलाई) देखि लागू हुने गरी उक्त निर्णय गरेको हो ।

अहिले हेलिकप्टरमा एक जना पाइलट रहेर उनले यात्रु बोक्ने गरी सञ्चालन भइरहेको छ । अब भने साना हेलिकप्टरमा समेत दुई जना पाइलट अनिवार्य राख्नु पर्ने निर्णय भएको उपमहानिर्देशक कर्णले जानकारी दिए । नेपालको भौगौलिक अवस्थितिले साना जहाज र हेलिकप्टरहरुको दुर्घटना दर उच्च रहेको छ । सोहीकारण हवाई सुरक्षा अभिवृद्धि गर्न यस्तो निर्णय गरिएको उनले बताए ।

क्याले नेपालमा अहिले हवाईजहाज र एमआई १७ मोडलका ठूला हेलिकप्टरमा मात्र दुई पाइलट अनिवार्य गरिएको थियो । अब भने साना हेलिकप्टरमा समेत दुई पाइलट अनिवार्य गरिएको हो ।

यस्तै, क्यानले मौसम सफा नभए आन्तरिक उडानका लागि अनुमति नदिने निर्णय गरेको छ । क्यानले तारा एअरको विमान दुर्घटना भएसँगै उड्ने र पुग्ने स्थानको मौसम सफा नभएसँगै उडान अनुमति नदिने निर्णय गरेको हो ।