विमान दुर्घटना अपडेट : मृतकमध्ये १० जनाको शव काठमाडौं ल्याइयो

तु खबर संवाददाता
२०७९ जेष्ठ १६, सोमबार १९:२०

काठमाडौं । मुस्ताङमा तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौं ल्याइएको छ । जिल्लाको थासाङ गाउँपालिका–२ सानोस्वाँरेबाट २१ जनाको शव संकलन गरिएकोमा पहिलो चरणमा १० जनाको शव काठमाडौं ल्याइएको हो ।

आइतबार तीन चालकसहित २२ जना सवार विमान दुर्घटना भएको थियो । दुर्घटनामा परेर हालसम्म २१ जनाको शव फेला परेकोमा १० जनाको शव काठमाडौं ल्याइएको हो । शव नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टर काठमाडौं ल्याएको जनाइएको छ ।

अन्य ११ जनाको शव भने दोस्रो चरण ल्याइने जनाइएको छ । शवहरूलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा लगिन र शवको पोस्टमार्टम भएपश्चात परिवारलाई बुझाइने तारा एयरले जनाएको छ ।

अर्का एक जना भने अझै बेपत्ता छन् । उनको दुर्घटनास्थलमा सुरक्षाकर्मीहरुले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रामकुमार दानीले जानकारी दिए ।