बजेट भाषणः रेलमार्ग निर्माणमा ६ अर्ब ५३ करोड, उर्जा क्षेत्र विकासमा ७५ अर्ब १० करोड विनियोजन
काठमाडौँ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । उनले पूर्वपश्चिम रेलमार्ग बर्दिबास–निजगढ खण्डको निर्माण गर्न तीव्रता दिइने बताएका छन् । बजेट भाषणमार्फत् अर्थमन्त्री जनार्दन शर्माले वीरगन्ज काठमाडौं रेलमार्ग र काठमाडौं मेट्रोरेलको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने बताए । यसका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।
वीरगन्ज, भैरहवा, पोखरालगायतका सहरमा ट्राम यातायात सञ्चालनमा गर्न पनि सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्रीले बताए । जनकपुर जयनगर रेल यातायात कुर्थासम्म विस्तार गरिने पनि उनले बताए ।
बिर्तामोड–जलेश्वर रेल यातायातको सम्भाव्यता अध्ययन गर्न पनि बजेट बिनियोजन गरिने उनले बताए ।
त्यसैगरी सरकारले उर्जा क्षेत्र विकासका लागि ७५ अर्ब १० करोड रकम विनियोजन गरेको छ भने आगामी आर्थिक वर्ष विद्युतीय प्रसारणलाइन तथा सबस्टेसन निर्माणमा सरकारले ४३ अर्ब ९५ करोड बजेट विनियोजन गरेको छ ।
