बजेट भाषणः मध्यपहाडी लोकमार्गका लागि ९ अर्ब ३३ करोड विनियोजन
काठमाडौँ । सरकारले पुष्पलाल मध्यपहाडी लोकमार्गका लागि आगामी आर्थिक वर्षमा ९ अर्ब ३३ करोड बजेट विनियोजन गरेको छ । यसमा सरकारले आफ्नै र दाताको सहुलियतपूर्ण ऋण खर्च गर्ने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन् ।
सरकारले आगामी वर्ष २३५ किलोमिटर सडक कालोपत्रे गर्न र १६ वटा पुल बनाउन यो रकम विनियोजन गरेको हो ।
आइतबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनर्दन शर्माले मध्यपहाडी लोकमार्गलाई प्राथमिकता दिइएको जानकारी दिए ।
पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म पुग्ने यो सडकको कुल लम्बाइ १ हजार ७ सय ७६ किमि छ ।
यो आयोजना आव ०७४/७५ मा नै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर लक्ष्य पूरा हुन नसक्ने देखेपछि अहिले यो आयोजना आर्थिक वर्ष ०७७/७८ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो ।
