बजेट भाषणः शिक्षा क्षेत्रमा ७० अर्ब ५ करोड, वन तथा वातावरणमा १३ अर्ब विनियोजन

युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड
तु खबर संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १७:४३

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । सरकारले शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड रकम छुट्याएको छ । त्यस्तै सरकारले शिक्षा क्षेत्रतर्फ प्रदेशमा ५ अर्व ३२ करोड र स्थानीय तहतर्फ १ खर्ब २१ अर्व १ करोड हस्तान्तरण गरेको छ । सरकारले डडेलधुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया अघि बढाउने भएको छ ।

मेडिकल शिक्षाका लागि विदेशी विद्यार्थी आकर्षण बढाउन मेडिकल कलेजहरुलाई प्रोत्साहन गर्ने सरकारले जनाएको छ ।

त्यस्तै वन तथा वातावरण क्षेत्रमा १३ अर्ब बजेट विनियोजन गरिएको अर्थमन्त्री शर्माले बताए । यस्तै राष्ट्रपति तराई मधेस चुरे संरक्षण विकास समितिलाई २ अर्ब १७ करोड बजेट विनियोजन गरिएको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उनले एसियाली र ओलम्पिक प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीका लागि आजीवन मासिक जीवन वृत्तिको प्रवन्ध गरिएको पनि जनाए । उनले खेलकुद संघलाई दिएको अनुदान वृद्धि गरिएको बताए ।