वडाबासीको सुखदुखमा सँगै हुनेछु: हरिप्रसाद पौडेल
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ का वडा अध्यक्ष पदका प्रत्यासी हरिप्रसाद पौडेलले आफु सदैव वडाबासीको हितका लागि क्रियाशील रहने प्रतिवद्धता वक्त गरेका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदमा झिनो मतले पराजित पौडेलले आफुलाई विश्वास गरी मतदान गर्ने, प्रत्येक्ष, अप्रत्येक्ष सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गर्दै वडाबासीको सुखदुखमा सँगै हुने बताए ।
उनले आफुसहित गठबन्धनको टिमलाई मतदान गर्ने सबै मतदाता, आम वडाबासी, विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने एवम् सुभेच्छा व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गर्दै नव निर्वाचित वडाध्यक्ष नविन सिग्देल नेतृत्वको वडा कार्यसमितिप्रति बधाई ज्ञापन गरे ।
‘हामी लोकतन्त्रमा विश्वास गर्छौँ । लोकतन्त्रको बलियो आधार भनेकै आवधिक निर्वाचन र जनादेशको नविकरण हो । चुनावमा भाग लिएपछि हार जित स्वभाविक प्रक्रिया हो । मलाई विश्वास गरेर यहाँहरुले दिनुभएको अमूल्य मत, अपार माया एवम् स्नेहको कदर गर्दै यहाँहरुको सुखदुखमा सदैव साथ सहयोग रहने विश्वास दिलाउन चाहान्छु । प्राविधिक रुपमा पराजित भएपनि मैले यहाँहरुको विश्वास जितेको छु, ।’ उनले भने ।
