डोरमणिकै वडामा दीपक सिंहको राज

तु खबर संवाददाता
२०७९ जेष्ठ ६, शुक्रबार ०८:२९

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–११ बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको गृह वडा हो । सो वडाबाट नेकपा एमालेका उम्मेदवारहरुलाई राम्रो मत आउने अनुमान गरिएको थियो । तर, सो वडाको १ हजार ९०८ मत गणना गर्दा मेयर पदमा राप्रपाका दीपक बहादुर सिंहलाई सबैभन्दा धेरै भोट प्राप्त भएको छ । सो वडाबाट एमालेका अनन्त पौडेललाई भन्दा राप्रपाका सिंहलाई २३३ मत बढी प्राप्त भएको छ । पौडेलले ४४६ मत पाउँदा सिंहले ६७९ मत प्राप्त गरेका छन् ।

रोचक त के छ भने,  उपमेयर पदमा सोही वडाकी एमाले उम्मेदवार सुमित्रा काफ्लेलाई भन्दा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार राजेश बानियाँलाई २५ मत बढी प्राप्त भएको छ ।काफ्लेले ६६१ मत प्राप्त गर्दा बानियाँले ६८६ मत प्राप्त गरेका हुन् । त्यस्तै राप्रपाकी इन्दिरा डल्लाकोटीलाई १७४ मत प्राप्त भएको छ ।

प्राप्त मतपरिणाम हेदा, राप्रपाबाट उपमेयरकी उम्मेदवार डल्लाकोटीले भन्दा सिंहले ५०५ मत बढी ल्याएका छन् । पूर्व मुख्यमन्त्री पौडेल र एमालेबाट उपमेयरकी उम्मेदवार काफ्लेको वडामा सिंहलाई अत्याधिक मत आएपछि एमालेभित्रै अन्तरघातको चर्चा राजनीतिक वृत्तमा चलेको छ ।

वडा नम्वर ११ एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाको पनि गृह वडा हो । एमालेबाट राना पनि हेटौंडाको मेयरका आकाँक्षी थिए । संविधानसभा सदस्यसमेत रहेका रानाले टिकट पाउँदा एमालेको प्रभाव झनै बढ्ने एमालेको आँकलन थियो ।