मकवानपुरगढीमा गठबन्धनका लामा र पाख्रिन विजयी, औपचारिक घोषणा हुन बाँकी
मकवानपुर । मकवानपुरगढी गाउपालिका अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्धनका दोर्जे लामा स्याङ्तान र मानकुमारी पाख्रिन विजयी भएका छन् । मतगणना सम्पन्न नहुँदै उनीहरु विजयी भएका हुन् । वडा नम्वर ४ र ५ मा गरी कूल ५७६ मत गणना गर्न बाँकी रहेकोले निर्वाचन अधिकृतको कार्यालयले उनीहरुलाई विजयी घोषणा भने गरिसकेको छैन ।
वडा नम्वर १,२,३,६,७ र ८ को मतपरिणाम अनुसार अध्यक्ष पदमा गठबन्धनको तर्फबाट कांग्रेसका दोर्जे लामा स्याङ्तानले नेकपा एमालेका विदुर हुमागाईंलाई ९४८ मतले पछि पारेका थिए । त्यस्तै वडा नम्वर ५ मा २ हजार मत गणना हुँदा उनले एमालेका हुमागाईंलाई ९४ मतले लिड गरे भने वडा नम्वर ४ मा १ हजार १०० मत गणना गर्दा उनले ३९ मत बढी पाए । यी दुई वडाको कूल ५७६ मत गणना गर्न बाँकी छ । प्राप्त नतिजा अनुसार दोर्जे १ हजार ८१ मतले हुमागाईं भन्दा अघि रहेका छन् ।
उपाध्यक्षकी उम्मेदवार मानकुमारी पाख्रिनले ६ वटा वडा गणना हुँदा एमालेकी सन्तु थिङ्लाई ६४८ मतले पछाडि पारेकी थिइन् । वडा नम्वर ४ मा १ हजार १ सय मतगणना हुँदा उनले ४४ मत र वडा नम्वर ५ मा १८६ मतले थिङ्लाई लिड गरेकी छिन् । प्राप्त नतिजा अनुसार पाख्रिन थिङ भन्दा ८७८ मतले अघि रहेकी छिन् । अब वडा नम्वर ४ र ५ मा ५७६ मत मात्रै गन्न बाँकी रहेको छ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमाले हुमागाईं अध्यक्ष निर्वाचित भएका थिए भने लामा झिनो मतले पराजित भएका थिए ।