मकवानपुरगढी अपडेटः गृह वडामै विदुरलाई हम्मेहम्मे, एमाले कार्यकर्तामा निराशा

तु खबर संवाददाता
२०७९ जेष्ठ ३,मंगलवार १४:३५

मकवानपुर । स्थानीय तह निर्वाचन २०७९ अन्तरगत ऐतिहासिक महत्व बोकेको मकवानपुरगढी गाउँपालिकाको मतगणना अहिले जारी छ । वडा नम्वर १,२,६,७ र ८ मा नेपाली कांग्रेस विजयी भइसकेको छ भने वडा नम्वर ३ मा नेकपा एमालेले विरासत जोगाउन सफल भएको छ । यी ६ वडा वडाको मत परिणाम हेर्दा अध्यक्ष पदमा झण्डै १ हजार मतले गठबन्धनका दोर्जे लामा स्याङ्तान अगाडि रहेका छन् ।

बाँकी वडा नम्वर ४ र ५ को मतगणना पनि जारी रहेको छ । यसअघि गाउँपालिका प्रमुख भई काम गरेका विदुर हुमागाईंको गृह वडा हो ५ नम्वर । नेकपा एमालेको किल्ला भनिएको सोही वडामा विदुर हुमागाईंलाई गठबन्धनका लामासँग प्रतिस्पर्धा गर्न हम्मेहम्मे परिरहेको छ । ५ नम्वर वडाकै मतले एमालेले चुनाव जित्ने दावी गरिरहेका एमाले कार्यकर्तामा दोर्जेको अग्रतापछि निराशा छाएको छ ।

२ हजार २२८ मत खसेको वडा ५ मा १ हजार ७०० मत गणना भइसक्दा पनि हुमागाईंलाई लामाले ८० मतले पछाडि पारेका छन् । लामाले ८२८ मत प्राप्त गरेका छन् भने हुमागाईले ७४८ मत प्राप्त गरेका छन् । एमालेको किल्ला भनिएको ५ नम्वरमा यस पटक कांग्रेसले राम्रो उपस्थिति जनाएपछि एमाले वृत्तमा तरंग पैदा भएको छ ।

यता वडा नम्वर ४ मा १ हजार ५४८ मत खसेकोमा हाल ८ सय गणना भइसकेको छ । जसमा दार्जेले ३४३ मत ल्याएका छन् भने विदुरले ३११ मत पाएका छन् ।