मकवानपुरमा मतदान जारी (फोटो फिचर)

तु खबर संवाददाता
२०७९ बैशाख ३०, शुक्रबार १२:०९

मकवानपुर । पाँच वर्षको लागि स्थानीय तहका जनप्रतिनिधि चुन्न आज मतदान भइरहेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकाको मतदान केन्द्रहरुमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।

निर्वाचनलाई व्यवस्थित तरिकाले सम्पन्न गर्न आयोगले जिल्लाको १ सय ६५ मतदान स्थलमा २ हजार ८ सय ३८ जना कर्मचारी खटाएको छ । जसमा १ हजार ७७० जनालाई आयोगले खटाएको हो भने १ हजार ६८ जना स्वयम् सेवकको रुपमा खटाइएको छ ।

निर्वाचन सुरक्षाका लागि सरकारले जिल्लाभरमा १ हजार ४ सय ७३ जना म्यादी प्रहरी, नेपाली सेना ५ सय जना, सशस्त्र प्रहरी ४ सय जना, नेपाल प्रहरी ९ सय जना खटाएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ जना मतदाताहरु रहेका छन् । जसमध्ये १ लाख ४ ९ जना पुरुष , १ लाख ४४ हजार ९ सय ५९ जना महिला तथा ६ जना तेस्रो लिङ्गी रहेको निर्वाचन आयोग बागमती प्रदेश कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ ।

मकवानपुरको सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगरपालिकाको रहेको जनाइएको छ । हेटौंडामा मात्र १ लाख ४ हजार ४ सय ५० जना मतदाता रहेका छन् । यस्तै, थाहा नगरपालिकामा ३२ हजार ३ सय ७ जना मतदाता रहेका छन् । बकैया गाउँपालिकामा २९ हजार ९ सय ४३ जना, बागमती गाउँपालिकामा २२ हजार ४० जना मतदाता रहेका छन् ।

यस्तै भीमफेदी गाउँपालिकामा १७ हजार ४ सय २८ जना, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय १८ जना, मनहरी गाउँपालिकामा २७ हजार ७ सय २१ मतदाता रहेका छन् । राक्सिराङ गाउँपालिकामा १५ हजार ८ सय ३२ जना, ईन्द्रसरोवर गाउँपालिकामा १२ हजार ४ सय ७१ जना र कैलाश गाउँपालिकामा १४ हजार ५ सय ४७ मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

तस्वीरहरु: गणेश दुलाल