दुर्घटनामा परेर मकवानपुरका तितुङसहित दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ बैशाख २८, बुधबार ०९:५७
सांकेतिक तस्वीर

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गएराति भएको ट्रक दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । निलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पुर्याएर फर्कँदै गरेको ग २ ख ६५८ नंको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

मृत्यु हुनेमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका ४३ वर्षीय खुमबहादुर राम्जाली र मकवानपुरको गोगनीका ३४ वर्षीय सन्तबहादुर तितुङ रहेका छन् । प्रहरीका अनुसार, मृतक राम्जाली सवारी धनी र तितुङ चालक हुन् । दुर्घटना परेर गम्भीर घाइते भएका उनीहरुलाई उद्धार गरेर बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ । ट्रक सडकबाट करिब ६० मिटर तल खसेर ट्रक दुर्घटना भएको थियो ।