एमालेबाट उपाध्यक्षकी उम्मेदवार थिङ् भन्छिन्: समृद्ध मनहरी निर्माण हाम्रो अभियान

तु खबर संवाददाता
२०७९ बैशाख २७, मंगलवार १९:४७

मकवानपुर । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट मनहरी गाउँपालिकाको उपाध्यक्ष पदमा सुजिता थिङ् उम्मेदवार रहेकी छिन् । २५ बर्षीया उनी गाउँपालिकाको कान्छि उम्मेदवार हुन् । युवा उम्मेदवारको रुपमा रहेकी थिङ् समृद्ध मनहरी गाउँपालिका निर्माणको लागि आफ्नो उम्मेदवारी भएको बताउँछिन् । उनी नेपालको संविधानको पूर्ण पालना गर्दै गाउँपालिकाको उपाध्यक्षको काम, कर्तव्य र अधिकारलाई मध्येनजर गर्दै कानूनको परिधिभित्र रहेर जनहितका काम गर्ने बताउँछिन् ।

भ्रष्ट्राचारमा शुन्य सहनशिलता अवलम्बन गरी भ्रष्ट्राचार नगर्ने र हुन नदिने आफ्नो मुख्य एजेण्डा भएको उनी थिङ्को भनाई छ । ‘अब समाज परिवर्तन गर्न जरुरी छ । समाजमा भएका विकृति विसंगतिको अन्त्य गर्दै भ्रष्टाचारमुक्त समाज आजको आवश्यकता हो र म त्यसको लागि डटेर काम गर्नेछु ।’ उनले भनिन् ।

२०५३ साल भदौ महिनामा साविकको हाँडीखोला गाविस वडा नम्वर– ८ डिल्लिपुरमा शुभराज थिङ र उदेकमाया मोक्तानको सन्तानको रुपमा जन्मिएकी सुजिताले मकवानपुर बहुमुखी क्याम्पसबाट बिबिएम सम्मको अध्ययन पुरा गरेकी छिन् । हाल उनी शंकरदेव क्याम्पस काठमाडौँबाट एमबिएस दोस्रो सेमेस्टर अध्ययनरत छिन् ।

विद्यालय जीवनबाट नै नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को प्रारम्भिक कमिटी सदस्य हुँदै विभिन्न राजनीतिक र सामाजिक कार्यहरु गर्दै आइरहेकी सुजिता बिबिएम अध्ययनरत रहँदा मकवानपुर क्याम्पस कमिटी सदस्य, सोही समयमा जिल्ला सदस्य हुँदै हाल अनेरास्ववियू मकवानपुरको जिल्ला सचिवालय सदस्य र महिला विभागको उपप्रमुखको जिम्मेवारीमा छिन् । उनी २०७४ देखि एमालेको संगठित सदस्य भई हाल मनहरी गाउँकमिटीको सचिवालय सदस्य छिन् ।

‘राजनीति मुलुक संचालनको मूल साँचो हो भन्ने बुझेर नै हाल देखिएको बिकृत राजनीतिक प्रणालीलाई शुद्धिकरण गर्दै शासन र प्रशासनमा युवा, महिला, दलित, जनजाती, जेष्ठ नागरिक, अपाङ्गता भएका तथा अल्पसंख्यक समुदायको समतामूलक सभागिता सुनिश्चितता गर्ने र नेपालको संविधानले परिकल्पना गरेको दीगोे विकास, निशुल्क माध्यमिक शिक्षा र आधारभूत स्वास्थ्यमा सहज पहुँच जनउत्तरदायी, जनसहभागितामूलक, पारदर्शी, जवाफदेही, विधिको शासनयुक्त, सरल, समानुपातिक समावेशीयुक्त, भ्रष्टाचाररहित, वित्तिय जवाफदेहितापुर्ण, सुसूचित समुदाय, पहुँचयोग्य सार्वजनिक सेवा र स्वतन्त्र प्रेसको मान्यतालाई आत्मसाथ गरेर काम गर्नेछु ।’ उनले तु खबरसँग भनिन् । उनी मनहरी गाउँपालिकालाई नमूना र अनुकरणीय स्थानीय तहको रुपमा निर्माण गर्ने बताउँछिन् ।

मनहरी वडा नं ९ र ५ जोड्ने पक्की पुल निर्माण गर्ने, गाउँपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवा आम जनतामा पहुँचयोग्य बनाउन मुस्कान सहितको सेवा प्रवाहमा जोड दिने, गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न गर्न पहल गर्ने, आम जनतामा सूचनाको हकको प्रत्याभूति दिलाउन कार्यपालिकाको निर्णय सोही दिन वेवसाइटमार्फत् प्रकाशन गर्ने, पालिकाले निर्माण गरेका र निर्माण गरिने सबै ऐन, नियम, कानून नियमावली र कार्यविधिहरु सिलसिलेवार रुपमा वेवसाइटमा राखिने, पालिकाको बजेट, योजना, प्रशासनिक कार्य प्रकृयाको बारेमा जनचेतना जगाउन तथा जानकारीको लागि त्रैमासिक रुपमा पालिका स्तरीय र मासिक रुपमा वडा स्तरीय सार्वजनिक सुनुवाई अनिवार्य रुपमा गर्ने व्यवस्था मिलाउने उनको योजना छ ।

कृषि पेशालाई आधुनिकिकरण र व्यवसायिकरण गर्दै लैजाने, सिचाईंको लागि कुलो र नहरहरुको व्यवस्थापन गरी आधुनिक उपकरण तथा मल वितरण गर्ने र गाउँपालिकाबाट विशेष कृषि अनुदानको व्यवस्था गर्ने, युवाहरुको क्षमता र शिपलाई बढाउन युवा लक्षित सीपमुलक, आयमूलक र उद्यम सहजिकरण तालिमहरु प्रदान गर्ने, वीउवीजन उपलब्ध गराउने, युवा स्वरोजगारको अवधारणालाई सार्थकता दिन पहल गर्ने, खेलकुद क्षेत्रको विकासमा प्राथमिकताका साथ काम गर्ने सुजिता बताउँछिन् ।

स्थानीय गुम्बा, मठ, मन्दिर, मस्जिद तथा चर्चलगायत साँस्कृतिक सम्पदाहरुको संरक्षण गर्न सम्बन्धित समुदायसँग सहकार्य गर्ने, महिला, बालबालिका, दलित, जेष्ठ नागरिक, अपाङ्गता भएका समुदाय, अल्पसंख्यक क्षेत्रका समुदायहरुको समानुपातिक समावेशिताको आधारमा कार्यक्रमहरु तयार गरी संरक्षण गर्ने, पारदर्शिता, जिम्मेवार र सुशासनयुक्त समाज निर्माणको पहल गर्ने उनको योजना छ ।