मकवानपुरको १० वटै मतगणना स्थलमा सिसिटिभि क्यामेरा जडान

तु खबर संवाददाता
२०७९ बैशाख २७, मंगलवार १८:५८

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनको मत गणनास्थलमा सिसिटिभि क्यामेरा जडानको कार्य सम्पन्न भइसकेको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिएका छन् । निश्पक्ष ढंगबाट मतगणना सम्पन्न गर्न आयोगको निर्देशन बमोजिम मकवानपुरको १० वटै पालिकामा सिसिटिभि क्यामेरा जडान गरिएको उनले बताए ।

‘मतगणनास्थलमा बदमासी नहोस् र आवश्यक सुरक्षाको विषयलाई समेत ध्यानमा राखेर आयोगले देशैभरको मतगणनास्तलमा सिसिटिभि जडान गर्न निर्देशन दिए बमोजिम हामीले जडान पक्रिया सम्पन्न गरेका हौँ । स्वच्छ र भयरहित ढंगबाट निर्वाचन सम्पन्न गर्ने र निश्पक्ष तरिकाबाट मतगणना गरिने छ ।’ उनले भने ।

उनले सबै पालिकामा मतदान अधिकृतसहितको जनशक्ति खटाइसकिएको बताए । मतदान प्रक्रियामा सुरक्षा प्रबन्ध मिलाउनको लागि सुरक्षाकर्मी र म्यादी प्रहरीसमेत परिचालन भइसकेको उनको भनाई छ ।

आज रातिबाट मौन अवधि सुरु भएकोले निर्वाचनलाई प्रत्येक्ष प्रभाव पार्ने र मतदातालाई त्रसित बनाउने, प्रलोभनमा पार्ने कुनै पनि गतिविधि नगर्न अपिल गर्दै उनले यदि, बेवास्था गरिएको पाइएमा कानूनी कारबाहीको दायरामा ल्याइने बताए ।