जीतपुरसिमरा उपमहानगरपालिकाः यस्तो छ संयुक्त गठबन्धनको प्रतिवद्धता
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा जीतपुर सिमरा उपमहानगर पालिकाको मेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका राजन पौडेल उम्मेदवार रहेका छन् । अघिल्लो निर्वाचनमा झिनो मतले मेयर पराजित भएका उनी ५ बर्षपछि पुनः उम्मेदवार भएका हुन् ।
२०७४ सालको निर्वाचनमा नेकपा एमालेले जितेको यो उपमहानगरमा जनप्रतिनिधिले जनहितका काम गर्न नसकेकोले अब जनताले विकल्प खोजिरहेको र आफुसँग समृद्ध उपमहानगर निर्माणको लागि काम गर्ने जोश, जाँगर एवम् भिजन भएको कारण सबैको सहयोग पाए आफु निर्वाचित हुने पौडेल बताउँछन् ।
पौडेल जनताको स्थानीय जनताको सुखदुखमा सँधै सँगै छन् । चुनावी एजेण्डा बोकेर उनी आम जनताको घरदैलोसम्म पुगिरहेका छन् । मतदातालाई आफ्ना प्रतिवद्धता सुनाउने, उनीहरुबाट सुझाव संकलन गर्ने, स्थानीय समस्याको पहिचान गर्ने कार्यमा पौडेल व्यस्त देखिएका छन् । यसै सन्दर्भमा पौडेल नेतृत्वको गठबन्धनका उम्मेदवारहरुले ‘समृद्ध जीतपुर सिमरा निर्माण अभियान’ लाई सार्थक बनाउन चुनावी प्रतिवद्धता सार्वजनिक गरिसकेका छन् ।
पौडेलले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष प्राथमिकतामा राखेका छन् । त्यस्तै उद्योग कलकारखानाको स्थापना, भाषा, कला, साहित्यको संरक्षण, कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमा उनले जोड दिएका छन् ।
आफ्नो नेतृत्वमा निर्माणाधीन सेज उद्योग संचालनको लागि आवश्यक पहल गर्ने, औद्योगिक प्रदुषण नियन्त्रणको पहल गर्ने, गरिब तथा भूमिहिन परिवारलाई उचित आवासको व्यवस्थापन गर्नुको साथै अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिलाउन पहल गर्ने, गरिब जनताको पहिचान गर्न राहत कार्ड निर्माण गरी लागू गर्ने पौडेल बताउँछन् ।
उपमहानगरभित्रका सहकारी तथा संघ/संस्था व्यवस्थापन गर्ने, नगरभित्र रहेका सहकारी तथा संघ÷संस्थाको अनुगमन तथा नियमन गर्ने, नगरभित्रको सहकारी तथा संघ/संस्थाको स्तरोन्नतीको लागि विशेष अनुदानको व्यवस्था गर्नुको साथै तालिम र प्रशिक्षणको व्यवस्था मिलाउने प्रतिवद्धतापत्रमा उल्लेख छ ।
सहकारीमार्फत् समृद्धि कार्यक्रम लागू गरिने, कृषि, पर्यटन, उपभोक्ता सहकारीलाई विशेष कार्यक्रम बनाई कार्यक्षेत्र भित्रका सबै जनताको पहुँच र स्वामित्व रहने गरी अगाडी बढाउने, महिला सशक्तिकरण तथा महिला स्वरोजगार मुलक कार्यक्रम संचालन गर्ने, महिला हिंसा न्यूनिकरण गर्न कार्यक्रमहरु संचालन गर्ने, नगर स्तारिय बाल उद्यान संचालन गर्ने, बालश्रम मुक्त नगर बनाउने उनको योजना छ ।
बजार क्षेत्रमा टेम्पो, बस तथा ट्रक पार्कको व्यवस्थापन गर्ने, नगरस्तरीय मिनी चिडियाघरको स्थापना गर्ने, नगर स्तरीय पुस्तकालय स्थापना गर्ने, नगर स्तरीय सभागृह स्थापना गर्ने, नगर आयुर्वेद औषधालय स्थापना गर्ने, चुरियामाई, गढीमाई, काँटघाट लगायतका मन्दिरहरूको संरक्षण र प्रवद्र्धन गर्ने उनको योजना छ ।
उपमहानगरभित्र खानेपानी तथा सरसफाईको प्रबन्ध मिलाउने, खानेपानीमा सबैको पहुँच विस्तार गर्न अमलेखगंज, पथलैया, चकरी लगायतका ठाँउहरूमा विशेष आयोजना लागू गर्ने, खानेपानीलाई सर्वसुलभ बनाउने, नगरका प्रत्येक वडाबाट फोहोर संकलन गरी मानव स्वास्थ्यलाई विशेष ख्याल गर्दै डम्पिङ्ग स्थलको निर्माण गरी संकलित फोहोरको उचित व्यवस्थापन गर्ने, डम्पिङ्ग क्षेत्रको फोहोरलाई प्राङ्गारिक मल निर्माण गर्न निजी क्षेत्र तथा संघसंस्थाहरुलाई सहकार्य र सहभागिताको लागि प्रोत्साहित गर्ने, पथलैयामा हाइवे अस्पताल ट्रमा सेन्टर स्थापनाको लागि पहल गर्ने पौडेल बताउँछन् ।
टोलटोलामा बाटोघाटो तथा सडक सञ्जाल विस्तार गर्नुको साथै उपमहानगरमा रिङ्गरोड निर्माण गर्ने, प्रत्येक वडालाई ५ वर्ष भित्रमा ग्रेवल रहीत बनाउने, सडक पेटीमा रूख विरूवा रोपी हरियाली नगर निर्माण गने, नगरका मुख्य सडक चोकहरूमा बत्ती जडान गर्ने, अमलेखगंज र चकरी बीचको पुल, जैतापुर रामनगर जोड्ने पुल, सुक्लैया, बदाफर पुललगायत आवश्यक स्थानमा पुलहरु निर्माण गर्न विशेष पहल गर्ने, संडक दुर्घटना न्यूनिकरणको लागि ट्राफिक प्रहरी, स्कूल, कलेज, सामाजिक संस्थाहरुसँग सहकार्य गरी आवश्यक कार्यक्रम ल्याइने, नगरवस संचालन गर्ने, विद्युतीय सवारी साधन सञ्चालनमा प्रोत्साहित गर्ने पौडेल बताउँछन् ।
औद्योगिक करिडोर व्यवस्थापन, औद्योगिक सुरक्षा नीति निर्माण गरी लागू गर्ने, नगर औद्योगिक करिडोर घोषणा गर्ने, साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्न नगर औद्योगिक ग्राम स्थापना गर्ने, कृषिमा आधारित उद्योगलाई अनुदानको व्यवस्था गर्ने, प्राङ्गारिक मल उत्पादन गर्ने उद्योगहरूको लागि विशेष अनुदानको व्यवस्था गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ ।
त्यस्तै नगर भरी निशुल्क कृषि बीउ विजनको व्यवस्था गर्ने, कषि तरकारी जार तथा कृषि उत्पादन खरिद विक्री केन्द्र तथा अन्न शीतभण्डार निर्माण गर्ने, रसायनिक मल उपलब्धतालाई सरल बनाई रसायनिक मलमा अनुदानको व्यवस्था गर्ने, व्यवसायिक कृषि उत्पादन तथा पशुपालन कार्यक्रमलाई प्रोत्साहित गर्ने पौडेलको योजना छ ।
त्यस्तै सामुदायिक तथा संस्थागत विद्यालयलाई अनुगमन गरी शैक्षिक गुणस्तर अभिवृद्धि गराउँदै लैजाने, स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने, योग, ध्यान तथा प्राकृतिक चिकित्सा केन्द्रहरू स्थापना गर्ने, दलित, अल्पसंख्यक घाइते, अपाङ्ग तथा निम्न वर्गका लागि कक्षा १२ सम्म निशुल्क शिक्षाको प्रबन्ध मिलाउने, नगर भित्रका गुम्बाको स्तरोन्नती गर्ने, नगरभित्र रहेको क्याम्पसहरूको अनुगमन तथा व्यवस्थापन गर्ने, २०० शैयाको श्रमिक अस्पताल निर्माण गर्ने पौडेलको योजना छ ।
उपमहानगरस्तरीय नगर अस्पताल निर्माण कार्यका लागि विशेष पहल गर्ने, प्राविधिक शिक्षामा जोड दिई प्राविधिक शिक्षा प्रदान गर्ने शिक्षालयहरूलाई अनुदानको व्यवस्था गर्ने, विद्यालयमा कार्यरत बालशिक्षिका तथा कर्मचारीहरूलाई अन्य सरह सुविधा प्रदान गर्न पहल गर्ने, सामुदायिक विद्यालयमा मन्टेश्वरी कक्षाहरू संचालनका लागि प्रोत्साहन र सहयोग गर्ने पौडेल बताउँछन् ।
सिमरा रंगशालाको निर्माण जीतपुरसिमरा गोल्डकपको निरन्तरता दिँदै खेलाडी उत्पादनमा विशेष जोड दिने, वडा नं. २४ को हरपुरमा क्रिकेट रंगशाला निर्माण गर्ने, योग, ध्यान, प्राकृतिक चिकित्सा केन्द्र स्थापना गर्ने, सूचना प्रविधि शबच सचनाको हकलाई स्थापित गर्न व्यवस्थित सूचना प्रणाली प्रयोगमा ल्याउने प्रत्येक वडा कार्यालय र नगरपालिकामा नागरिक बडापत्र राख्ने, नेटवर्कको समस्या भएको स्थानहरुमा मोवाइलको टावर निर्माण गर्ने, नगर तथा वडाका काम करवाहीहरु सूचना प्रविधिमैत्री बनाउने पौडेल बताउँछन् ।
वन तथा पर्यावरण संरक्षण नीति बनाइ लागू गर्ने, खाली जग्गामा बृक्षारोपण गर्ने कार्यलाई व्यवस्थित रूपमा अगाडि बढाउने, वनमा आश्रित व्यक्तिहरुलाई वैकल्पिक रोजगारको व्यवस्था गर्ने, जलवायू परिवर्तनलाई न्यूनिकरण गर्ने उपायहरू अवलम्बन गरी अभियानको रूपमा अगाडी बढाउने, चुरे संरक्षण कार्यक्रमलाई व्यवस्थित रूपमा अगाडि बढाउने, वालगंगा, दुधैरा र पसाहा लगायत नदी नियन्त्रण गर्न व्यवस्थित रूपमा कार्यक्रम अगाडि बढाउने, हरियाली मैत्री नगर निर्माणमा जोड दिने, पर्सा राष्ट्रिय निकुञ्जमा वन र वन्यजन्तुको संरक्षण गरी पर्यटन प्रवद्र्धनका लागि समन्वय एवम् सहकार्य गर्ने पौडेलले बताए । नीजि वन कार्यक्रमलाई प्रोत्साहन गरी पर्यावरण संरक्षणमा टेवा पुयाउने, संरक्षण नगर वन निर्माण गर्ने, वडा नं १४, १५, १६ र ११ लगायतका स्थानमा नदी कटानको समस्या समाधान गर्न विशेष पहल गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ ।
त्यस्तै नगर प्रहरी भर्ना गरी उचित व्यवस्थापन गर्ने, हाम्रो नगर सुरक्षित नगर भन्ने कुरालाई व्यवस्थापन गर्न सडक तथा चोकमा सीसीक्यामेरा जडान गर्ने, उपमहानगरभित्र रहेका पर्यटकीय स्थानहरूको व्यवस्थापन गरी पर्यटन शहरको रुपमा विकास गर्ने, पर्यटनको थप सम्भावनाको खोजी गर्ने दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि आवश्यक पहल गर्ने, धार्मिक पर्यटनको रूपमा उपमहानगर भित्र रहेका मठ, मन्दिर, गुम्बा, मस्जिदतथा चर्चहरूलाई व्यवस्थित रूपमा अगाडि बढाउने, विभिन्न जात जातिको संस्कृतिलाई संरक्षण गर्न नगर स्तरीय सांस्कृतिक सङ्ग्रालयको स्थापना गर्ने, चाड पर्वहरूमा पूजा गरिने छठिमाई, ब्रम्हस्थान, भइयामाई तथा धार्मिक स्थलहरूको संरक्षण एवम् निर्माण गर्ने, उपमहानगर स्तरीय नगर उद्यान स्थापना गर्ने पौडेल बताउँछन् ।
उपमहानगर स्तरीय सहिद पार्क निर्माणका लागि प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरी तत्काल कार्य अगाडि बढाउने पर्यटन प्रहरी एवम् पर्यटन सूचना केन्द्रको स्थापना गर्ने चुरे पहाड क्षेत्रमा पर्यटन विकासको लागि चुरे ड्याम निर्माण, जीप लाइन सञ्चालन, साइकिलिङ्ग तथा हाइकिङ्ग रुटको निर्माण गरी निजी क्षेत्रको सहकार्यमा सञ्चालन गर्ने, सिमसार क्षेत्र संरक्षणको कार्यक्रम ल्याउने, पर्यटन प्रवद्र्धन तथा स्थानीय रोजगारी बढाउन होमस्टे सञ्चालनमा प्रोत्साहन र अनुदानको व्यवस्था गर्ने उनको योजना छ ।
आफ्नो नेतृत्वमा औद्योगिक, कृषि उत्पादन, पर्यटन प्रवद्र्धन र बजारीकरणका लागि नीजि क्षेत्रसंग समन्वय गरी प्रदर्शनी, मार्ट र एक्स्पोहरु निजी क्षेत्रका संघसंस्थाहरुको सहकार्यमा सञ्चालन गर्ने, ७० बर्ष भन्दा माथिका वृद्धहरूलाई निशुल्क स्वास्थ्य चेकजाँच तथा औषधिको व्यवस्था गर्ने, जेष्ठ नागरिकहरूका लागि प्रत्येक वडामा जेष्ठ नागरिक क्लबहरू निर्माण गर्ने, नेपाल सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्तामा उपमहानगरपालिकाले रू ५०० थप गरि घरघरमा पुर्याउने, उपमहानगरपालिकाले निर्माण गर्ने सम्पूर्ण भवन तथा भैतिक संरचनाहरु अपाङ्गमैत्री बनाउने, असहायहरूको लागि आवासीय वृद्धाश्रम निर्माण गर्ने ७० वर्ष कटेका वृद्धाहरूलाई नगर बसमा निशुल्क यात्रा गराउने, असहाय, विपन्न, वृद्ध, अपाङ्गहरुलाई राहत सामाग्रीहरू निशुल्क वितरण गर्ने उनको योजना छ ।
क्रिश्चियन धर्मावलम्बीहरूको शव दफन स्थल निर्माण गर्ने, यूवा रोजगार कार्यक्रम संचालन गर्न उपमहानगरपालिकाले विशेष कोषको व्यवस्था गरी व्यवसाय संचालन गर्न सहुलियत ऋण उपलब्ध गराउने, वैदेशिक रोजगारीमा जाने युवालाई पालिका भित्र नै रोजगारी सृजना गरी विदेश जाने प्रवृतिलाई न्यूनिकरण गर्ने, उपमहानगर भित्र रहेका उद्योगहरूमा नगर भित्रका युवाहरूलाई रोजगारमूलक बनाउन जोडदार पहल गरी एक घर एक रोजगारको अवधारणा ल्याइने उपमहानगर भित्र रहेको सिमरा रंगशालाको स्तरोन्नती गरी अझ व्यवस्थित बनाउने र प्रत्येक वडामा खेलमैदान निर्माण गरी शारीरिक तथा मानसिक विकासमा जोड दिने, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई खेलकुद प्रति उत्प्रेरित गर्न उपमहानगरपालिकाबाट खेलकुद सामाग्री निशुल्क उपलब्ध गराउने, उपमहानगरपालिका भित्र आवश्यक स्थानमा अनुकुलता हेरी स्वीमिङ्ग पुल निर्माण गर्ने, प्रत्येक वडामा शारीरिक व्यायमको लागि जीम हाउस निर्माण गरी स्थानीय क्लब तथा संघसंस्थाहरुको सहकार्यमा सञ्चालन गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ ।
पौडेलले पूर्वाधार विकास, ग्रामिण विद्युतीकरण, फोहोरमैला व्यवस्थापन, महिला बालबालिका लक्षित कार्यक्रम लगायतका एजेण्डालाई विशेष महत्व दिएका छन् । यसअघि झिनो मतले पारजित हुनुपरेकोले जनहितका काम गर्ने योजना अधुरै रहेपनि अब जीतपुर सिमरालाई समृद्ध उपमहानगर बनाउने उद्देश्य पुरा हुने र सबैको सहयोग आवश्यक रहेको पौडेल बताउँछन् ।
