मकवानपुरगढीको सहायक निर्वाचन अधिकृतको जिम्मेवारी शिवाकोटीलाई

तु खबर संवाददाता
२०७९ बैशाख २४,शनिबार १७:५६

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाको सहायक निर्वाचन अधिकृतको जिम्मेवारी मदन शिवाकोटीलाई दिइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले सामाजिक सञ्जालमा नेकपा एमालेको प्रचारप्रसार गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले पुडासैनीलाई सहायक मतदान अधिकृतबाट हटाएर शिवाकोटीलाई जिम्मेवारी दिएको हो । शिवाकोटी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृत हुन् ।

पुडासैनी एमालेको प्रचारप्रसारमा संलग्न भएपछि नेपाली कांग्रेसका गाउँपालिका सभापति राजविर मुक्तान र नेकपा माओवादी केन्द्रका अध्यक्ष राजुकमार खड्काले संयुक्त रुपमा सहायक निर्वाचन अधिकृत पदबाट निष्कासन गर्न मकवानपुरगढीको निर्वाचन अधिकृत नारायणप्रसाद पोखरेललाई पत्र बुझाएका थिए । पोखरेलले पुडासैनीलाई हटाइएको र शिवाकोटीलाई उक्त पदमा राखी कार्य गर्न निर्देशन दिइएको जानकारी दिएका छन् ।