हेटौंडा उपमहानगरः राप्रपा त्यागेका अधिकारीले लामालाई सघाउने, दिपक सिंहलाई धक्का

तु खबर संवाददाता
२०७९ बैशाख २४, शनिबार १२:०४

मकवानपुर । पार्टीमा अपमानित र अपहेलित हुनुपरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पुराना नेता मधु अधिकारीले शुक्रबार पार्टी परित्यागको घोषणा गरे । आसन्न स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर दावी गरिरहेका अधिकारीलाई सुइँको नदिई केन्द्रले दिपकबहादुर सिंहलाई टिकट दिएपछि उनी असन्तुष्ट बनेका थिए ।

अधिकारीले राप्रपालाई मुलुकको राष्ट्रिय राजनीतिमा स्थापित गर्न तल्लो तहमा नै बसेर अनवरत रुपमा रगत पसिना बगाइरहेको, सकेको बल, बुद्धि, श्रम, सीप लगाउँदै आफ्नो क्षमता अनुसार सकेको आर्थिक लगानी पनि गरेको, सिद्धान्तलाई केन्द्रमा राखेर अघि बढेको भएपनि पार्टीमा आफ्नो मूल्याङ्कन नभएको भन्दै पार्टी छाडेका हुन् ।

अधिकारी बाहिरिएसँगै राप्रपाका ठूलो धक्का पुगेको राजनीतिक वृत्तमा चर्चा छ । राप्रपाको राजनीतिमा तीन दशकभन्दा बढी सक्रिय रहेका अधिकारी राप्रपाको केन्द्रीय सदस्य, केन्द्रीय कार्य सम्पादन समिती सदस्य, बागमती प्रदेशको उपाध्यक्षलगायत भूमिकामा थिए । उनले जिल्ला सभापतिको भूमिका पनि निर्वाह गरेका थिए ।

निर्वाचित वडाध्यक्षदेखि साविकको हेटौंडा नगरपालिकाको मेयरसम्म भएर आफ्नो दायित्व निर्वाह गरेका अधिकारी पछिल्लो समय राप्रपालाई एकताबद्घ बनाउने अभियानमासमेत सक्रिय रहेका थिए । राप्रपा निकट स्रोतका अनुसार अधिकारी र उनका छोरा नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दैछन् ।

कमल थापाले सुर्यमा भोट हाल्ने, अधिकारीले लामालाई सघाउने

अघिल्लो स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरका उम्मेदवार रहेका अधिकारीले झण्डै सात हजार मत ल्याएका थिए । त्यतिबेला राप्रपा विभाजन भएको थिएन । पार्टीका तत्कालिन अध्यक्ष कमल थापाको गृह नगरमा अधिकारीले सम्मानजनक मत पाएका थिए ।

राप्रपा विभाजनपछि कमल थापाले राप्रपा नेपाल स्थापना गरेका छन् । जिल्लाका थुप्रै नेता तथा कार्यकर्ताहरु कमल थापाको पक्षमा खुलेरै लागेका छन् । देशैभरका अधिकाँश स्थानमा आफ्नो पार्टींले सुर्य चिन्हमा मतदान गर्ने थापाले घोषणा गरिसकेका छन् । हेटौंडा उपमहानगरपालिकाको हकमा पनि राप्रपा नेपालको सहयोग एमाले उम्मेदवारलाई रहने थापाले उद्घोष गरिसकेका छन् ।

यता, अघिल्लो निर्वाचनमा हेटौंडावासीको सम्मानजनक मत पाएका मेयरका प्रत्यासी अधिकारी बाहिरिएपछि राप्रपा उम्मेदवार दिपकबहादुर सिंहलाई धक्का पुगेको हो । राप्रपा स्रोतका अनुसार अधिकारी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा समावेश हुँदैछन् । उनको सहयोग गठबन्धनकी उम्मेदवार मिना लामालाई रहने स्रोतको दावी छ ।

सिंहले पत्रकार सम्मेलन आयोजना गरी आफु उपमहानगरबाट प्राप्त हुने सेवा सुविधा नलिने र मासिक ३/४ लाख रुपैयाँ भन्दा बढी व्यक्तिगत खर्च गरेर हेटौंडालाई समृद्ध बनाउने अभिव्यक्ति दिएका थिए । राप्रपा भित्रै असन्तुष्टि छ, तपाईको जित्ने आधार के हो भन्ने प्रश्नमा उनले गठबन्धन भित्र पनि भाँडभैलो भएकोले उनीहरुको मत आफुलाई आउने र आफु मेयर पदमा निर्वाचित हुने जवाफ दिएका थिए । उनले घरदैलो अभियानमा पनि आफु मेयर विजयी हुने र गठबन्धनकी उम्मेदवारको मत तेस्रो स्थानमा रहने बताउँदै आएका छन् ।

यता, गठबन्धन दलका नेताहरुले भने गठबन्धनको भोट राप्रपालाई जान्छ भनेर नेकपा एमालेले भ्रम फैलाएको बताएका छन् । गठबन्धनकी उम्मेदवार लामाको भोट राप्रपा उम्मेदवार सिंहलाई जान्छ भनेर एमालेले भ्रम फैलाउँदा एमाले उम्मेदवार अनन्त पौडेललाई सहयोग पुग्ने उद्देश्यले भ्रम फैलाइएको गठबन्धन दलका नेताहरु बताउँछन् ।