गठबन्धनले जिते जेष्ठ नागरिक पोषण कार्यक्रम सञ्चालन गर्छौँ, वडाबाटै भत्ता वितरण गर्छौँः लामा
मकवानपुर । सत्तारुढ गठबन्धनबाट मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार दोर्जे लामा स्याङ्तानले आफुहरुले पालिकाको नेतृत्व लिएपछि जेष्ठ नागरिक पोषण कार्यक्रम ल्याउने र प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताएका छन् । बुधबार ४ नम्वर वडामा गठबन्धनले आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले पोषण कार्यक्रम लागु गर्नुको साथै जेष्ठ नागरिकलाई वडाबाटै बृद्धभत्ता वितरणको प्रबन्ध मिलाउने बताए । उनले गठबन्धनले धेरै बोल्ने नभई धेरै काम गर्ने बताए ।
गाउँपालिकामा भ्रष्ट्राचार शुन्य बनाउने, पारदर्शी कार्यक्रम सञ्चालन गर्नुको साथै पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा, युवा स्वरोजगारलगायत क्षेत्रमा सबैको पहुँच पुग्ने गरी काम गरिने प्रतिवद्धता व्यक्त गरे । पालिकासँग सबै वडाको सडक सञ्जाल जोड्नुको साथै मनकामना क्षेत्रमा उत्पादित तरकारी तथा फलफुललाई कोशेली घर निर्माण गरी विक्री वितरण गराउने वातावरण सिर्जना गरिने बताए ।
सभालाई सम्बोधन गर्दै उपाध्यक्ष पदका उम्मेदवार मानकुमारी पाख्रिनले हाम्रो जीत निश्चित भएको तर, मतदाता शिक्षा चुनौतीको विषयमा चुनौतीको विषय रहेको बताइन् । उनले अघिल्लो सरकारले वडा नम्बर ४ लाई पछाडी पारेको भन्दै अब निर्वाचित भए पश्चात वडाको विकासमा हामी गठबनधन सरकार लाग्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कांग्रेस ४ नम्बर वडा सभापति सुवास सापकोटाको अध्यक्षता तथा माओवादी केन्द्र जिल्ला सचिव भीम पाख्रिनको प्रमुख अतिथ्यतामा भएको सभामा गठबन्धनका चुनाव प्रचारप्रसार समिति संयोजक यतिराज साकोटा, माओवादीका नेता प्रह्लाद लामिछाने, कांग्रेसका प्रतिनिधि सभा क्षेत्र २ का सचिव बलराम घिमिरे, महासमिति सदस्य सुवात सिं थिङ, माओवादी केन्द्रका पालिका अध्यक्ष राजकुमार खड्कालगायतको उपस्थिति रहेको थियो ।
